आज विश्व अटिजम सचेतना दिवस मनाइँदै, समान अधिकार र सहभागितामा जोड

१९ चैत, काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस विभिन्न कार्यक्रममार्फत विश्वभर मनाइँदै छ। अटिजम मस्तिष्क विकाससँग सम्बन्धित एक अवस्था हो, जसका कारण व्यक्तिको व्यवहार, सञ्चार शैली तथा सोच्ने तरिका सामान्यभन्दा फरक हुन सक्छ। विशेषज्ञहरूका अनुसार अटिजम भएका व्यक्तिहरूको बुझाइ र अभिव्यक्ति फरक भए पनि उनीहरूमा आफ्नै विशेष क्षमता र प्रतिभा हुने गर्दछ।

अटिजम भएका व्यक्तिहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्ने सन्देशका साथ संयुक्त राष्ट्रसंघ को आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो। यस वर्ष पनि राष्ट्रसंघले सदस्य राष्ट्रहरूलाई अटिजम भएका व्यक्तिहरूको योगदानको सम्मान गर्दै उनीहरूको अधिकार संरक्षण र समावेशी समाज निर्माणमा जोड दिन आग्रह गरेको छ।

यसै अवसरमा जारी सन्देशमा एन्टोनियो गुटरेस ले अटिजम भएका व्यक्तिहरूको मानवअधिकार र मौलिक स्वतन्त्रताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्नुपर्ने बताएका छन्। उनले सबैका लागि समान अवसर र सम्मानजनक सहभागिता आवश्यक रहेको उल्लेख गरेका छन्। विशेषज्ञहरूका अनुसार अटिजमबारे सही जानकारी, प्रारम्भिक पहिचान र सहयोगी वातावरणले उनीहरूको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्छ। समाजमा सकारात्मक सोच र स्वीकार्यता बढाउन यस्ता दिवसले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।


यो पनि पढ्नुहोस्