१४ कात्तिक, काठमाडौं ।
समाचार संकलन र प्रकाशन गरेकै आधारमा सञ्चारकर्मीहरूमाथि प्रहरीले बढाएको पत्रकार धरपकड प्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कडा आपत्ति प्रकट गरेको छ। कार्यकक्षमै पुगेर सञ्चारकर्मीहरूलाई नियन्त्रणमा लिने तथा अन्य पत्रकारहरूको खोजी तीव्र पार्ने प्रहरी कदमलाई रास्वपाले विधिको शासन र संविधानप्रदत्त प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घनको संज्ञा दिएको हो।
रास्वपाका अनुसार समाचारका विषयमा कुनै चित्त नबुझे वा गुनासो रहेमा त्यसलाई समाधान गर्ने स्थापित कानुनी तथा संस्थागत प्रक्रियाहरू विद्यमान छन्। प्रेस काउन्सिल नेपालजस्ता नियमनकारी निकायहरू हुँदाहुँदै ती प्रक्रियालाई पूर्ण रूपमा बेवास्ता गरी सोझै प्रहरी प्रशासन प्रयोग गरेर सञ्चारकर्मीमाथि धरपकड गर्नु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको दलको भनाइ छ।
सञ्चार गृहको कार्यालयमै पुगेर पत्रकारलाई पक्राउ गर्ने र अन्य पत्रकारहरूलाई त्रासको वातावरण सिर्जना गर्ने प्रहरी गतिविधिले स्वतन्त्र पत्रकारितामाथि गम्भीर प्रहार गरेको रास्वपाले स्पष्ट पारेको छ। राज्यका निकायहरूले कानुनले निर्दिष्ट गरेको कार्यक्षेत्रभन्दा बाहिर गएर सञ्चारकर्मी नियन्त्रणमा लिनु गैरकानुनी र निरंकुश कदम भएको ठहर पार्टीले गरेको छ।
पछिल्ला दिनहरूमा समाचार लेखेकै निहुँमा प्रहरीले देखाएको यस्तो अतिशय सक्रियताले कानुनी राज्यको खिल्ली उडाएको सञ्चार क्षेत्रका विज्ञहरूको पनि तर्क छ। सञ्चारकर्मीलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउनुको साटो उल्टै भय र त्रास सिर्जना गरिनुले प्रेस स्वतन्त्रता संकुचित हुने खतरा बढेको छ।
स्वस्थ र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको बलियो स्तम्भ भएकाले नागरिकको सुसूचित हुने अधिकार र सञ्चारकर्मीको संवैधानिक अधिकारको सम्मान गर्न रास्वपाले माग गरेको छ। विधिको शासन कायम राख्न, कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका धरपकड तत्काल रोक्न र निर्बाध रूपमा पत्रकारिता गर्ने वातावरणको प्रत्याभूति गराउन पनि सरकार तथा सम्बन्धित निकायहरूसँग आग्रह गरिएको छ।
थप उपयोगी लिङ्कहरू
Tourism & Management · Citizen Responsibility · Skill Services · Ramesh Poudel
यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com














Leave a Reply