चैत १३ | काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम ले पदभार ग्रहण गरेसँगै महत्वपूर्ण निर्णय सार्वजनिक गरेकी छन्।
पदभार सम्हाल्नेबित्तिकै उनले बलात्कार, बलात्कारपछि हुने हत्या तथा अन्य यौनजन्य हिंसासँग सम्बन्धित मुद्दामा विद्यमान कानुनी व्यवस्था पुनरावलोकन गर्ने निर्णय लिएको जानकारी दिइन्। यस्ता जघन्य अपराधमा संलग्न दोषीलाई कडा सजाय सुनिश्चित गर्ने र पीडितलाई छिटो न्याय दिलाउने उद्देश्यले कानुनमा रहेका कमजोरीहरू हटाइने उनले बताइन्।
उनको निर्णयअनुसार, यस्ता अपराधसँग सम्बन्धित कानुनमा देखिएका अवरोध पहिचान गर्न अध्ययन कार्यदल गठन गरिनेछ। उक्त कार्यदलले आवश्यक अध्ययनपछि कानुन संशोधनका लागि सिफारिस गर्नेछ।
मन्त्री गौतमले विशेषगरी यौन हिंसा र बालबालिकासम्बन्धी अपराधमा न्याय प्रक्रिया प्रभावकारी र पीडितमैत्री बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहने स्पष्ट पारेकी छन्।

