सुनसरीको बराहक्षेत्रमा ठूलो परिमाणको अवैध गाँजासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र–चतरा सडक खण्डमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीले चार क्विन्टल १८ किलो गाँजा बरामद गर्दै चार जना शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र अर्को मोटरसाइकललाई रोकेर खानतलासी गर्दा सो परिमाणको गाँजा फेला परेको हो। सवारी साधनभित्र विशेष रूपमा लुकाएर ल्याइएका २२ वटा पोकामा गाँजा प्याक गरिएको भेटिएको थियो।
पक्राउ पर्नेहरूमा कार चालक धरान उपमहानगरपालिका–१३ निवासी ३४ वर्षीय थमन राईसहित अन्य तीन जना रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार शङ्कास्पद गतिविधिको आधारमा गरिएको चेकिङका क्रममा उक्त गाँजा बरामद गरिएको हो। पक्राउ परेका चारै जनालाई हाल जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
पहाडी भेगमा अवैध रूपमा संकलन गरिएको गाँजालाई तराईका नाका हुँदै ओसारपसार गर्ने गिरोह सक्रिय रहेको आशङ्कामा प्रहरीले निगरानी बढाएको छ। विशेष गरी चतरा–बराहक्षेत्र सडक खण्डलाई प्रयोग गरी भइरहेको अवैध कारोबार नियन्त्रण गर्न सुनसरी प्रहरीले मुख्य राजमार्ग तथा भित्री सडकहरूमा चेकिङ र गस्ती तीव्र पारेको जनाएको छ।






















Leave a Reply