देउवाको दाबी: ‘घरमा ठूलो रकम थिएन, सामाजिक सञ्जालका विवरण एआईबाट बनाइएका हुन सक्छन्

चैत ११, २०८२ | काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा ठूलो परिमाणमा नगद रकम नभएको बताएका छन्। सामाजिक सञ्जालमा फैलिएका विवरणहरू एआईबाट तयार पारिएको हुन सक्ने उनको दाबी छ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी र तोडफोड भएको थियो। सो घटनाका क्रममा देउवा दम्पतिमाथि आक्रमणसमेत भएको थियो। त्यसपछि घरभित्र जलेको अवस्थामा विभिन्न मुद्रा भेटिएको भन्दै सामाजिक सञ्जालमा भिडियोहरू सार्वजनिक भएका थिए।

यस विषयमा जाँचबुझ आयोगसमक्ष बयान दिँदै देउवाले निवासमा ठूलो रकम नभएको र बाहिर आएका सामग्रीहरू विश्वसनीय नभएको संकेत गरेका छन्। उनका अनुसार नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा तयार पारेको मुचुल्कामा पनि ठूलो रकम भेटिएको उल्लेख छैन।

देउवाले सामाजिक सञ्जालमा देखिएका विवरणलाई ‘एआईबाट बनाइएको हुन सक्ने’ भन्दै त्यसबारे आफूले कुनै उजुरी नगरेको पनि बताएका छन्। उनले यसलाई षड्यन्त्रको रूपमा व्याख्या गर्दै कसले यस्तो गरेको हो भन्ने थाहा नभएको उल्लेख गरेका छन्।

उनले बयानमा भदौ २३ र २४ गतेको घटनाक्रम पनि वर्णन गरेका छन्। भदौ २४ गते प्रदर्शनकारीहरू निवासमा आएर नाराबाजी गर्दा सुरक्षाकर्मीले रोक्न खोज्दा झडप भएको र केही युवाले आफूलाई जोगाएको उनले बताएका छन्।

देउवाका अनुसार उक्त दिन राति करिब १० बजे उनीहरू सुरक्षित स्थानमा पुगेका थिए। निवासमा भएको आगजनी, तोडफोड र लुटपाटबारे प्रहरीले मुचुल्का तयार पारेको भए पनि त्यसपछिको कारबाहीबारे आफूलाई जानकारी नभएको उनले बताएका छन्।

साथै, उनले घटनामा कुनै राजनीतिक हस्तक्षेप नभएको दाबी गरेका छन्। लोकतन्त्रमा ट्रेड युनियन र विद्यार्थी संगठनको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले हिंसात्मक गतिविधिमा संलग्न जोसुकैलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।