१ चैत, काठमाडौं — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधबार साँझ सार्वजनिक गरेको सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको हो।
नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुगेको छ। दोस्रो वर्गका लागि १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि वृद्धि भई पहिलो वर्गमा १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।
निगमले मूल्य निर्धारणका लागि विभिन्न स्थानलाई वर्गीकरण गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज परेका छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल समावेश छन्।

