बागलुङमा एउटै नम्बरका हजारका नक्कली नोट भेटिँदै

१२ चैत , बागलुङ — बागलुङ बजार क्षेत्रमा एक हजार रुपैयाँका नक्कली नोट भेटिन थालेपछि स्थानीय बैंक तथा वित्तीय संस्थाहरू सतर्क भएका छन्। एउटै सिरियल नम्बर भएका नोटहरू विभिन्न बैंकमा फेला परेको जानकारी आएको छ।

नेपाल बैंक बागलुङ शाखाका अनुसार हालसम्म १८ भन्दा बढी यस्ता नोट भेटिएका छन्। बैंकमा रकम जम्मा गर्न ल्याइएको गड्डीभित्र नक्कली नोट मिसिएको अवस्थामा भेटिएको शाखा प्रमुख कृष्णबहादुर कुँवरले बताए।

उनका अनुसार नेपाल बैंकसँगै प्रभु बैंक, गरिमा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंकमा पनि एउटै नम्बर ‘झ ७९१६९०३३’ भएका नोटहरू देखिन थालेका छन्। उनले सर्वसाधारणलाई कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रारम्भिक परीक्षणमा नक्कली नोटमा प्रयोग गरिएको कागजको गुणस्तर, राष्ट्रिय फूल, स्टिकर तथा अन्य सुरक्षात्मक चिन्हमा फरक देखिएको छ। साथै, नोटको नम्बर नै दोहोरिएको पाइएपछि थप शंका उत्पन्न भएको छ।

बैंकर्स क्लब बागलुङका अध्यक्ष श्रीजय श्रेष्ठका अनुसार यस विषयमा नेपाल राष्ट्र बैंकलाई जानकारी गराइसकिएको छ। उनले चाडपर्वको भीडभाडको मौका छोपी नक्कली नोट बजारमा आएको हुनसक्ने अनुमान व्यक्त गरे।

यस्ता नोटहरू सामान्यभन्दा बाक्लो हुने र छिट्टै खुम्चिने विशेषता देखिएको भन्दै सचेत भएर कारोबार गर्न सबैलाई आग्रह गरिएको छ।