१४ असार, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित चर्चित घर्तीभीर (महभीर) काटेर मोटरबाटो निर्माण सम्पन्न भएको छ। वर्षौंदेखि जोखिमपूर्ण गोरेटो बाटोका रूपमा परिचित रहेको यो भीर अब सवारीसाधन सञ्चालन गर्न मिल्ने सडकमा परिणत भएको छ।
आहाले–रेग्मीटार सडक खण्डअन्तर्गत साप्सु खोलाको किनारमा रहेको घर्तीभीर करिब पाँच महिनाको निरन्तर मेहनतपछि छिचोलिएको हो। निर्माणको जिम्मा पाएको कमल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, उदयपुरले गत माघ २८ गतेदेखि चट्टान काट्ने काम सुरु गरेको थियो। असार ११ गते सडक छिचोल्ने काम सम्पन्न भएपछि असार १३ गते कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले नयाँ सडकको उद्घाटन गरेका हुन्। भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत १ करोड ७ लाख ७८ हजार रुपैयाँको लागतमा सडक स्तरोन्नतिको ठेक्का सम्झौता गरिएको थियो। निर्माण कार्य सम्पन्न गर्ने म्याद जेठ ३१ गतेसम्म तोकिएको भए पनि काम पूरा गर्न समय लागेकाले म्याद थप हुने अपेक्षासहित निर्माण कार्यलाई निरन्तरता दिइएको थियो।
खोटाङको घर्तीभीर पाँच महिनाको कठिन परिश्रमपछि काटेर मोटरबाटो निर्माण गरिएको छ। नयाँ सडक खुलेसँगै दिक्तेल–गाईघाट यात्रा छोटो र सहज बनेको छ।
घर्तीभीरमा सडक निर्माण भएपछि दिक्तेलबाट उदयपुरको गाईघाट पुग्ने दूरी छोटिएको छ। यसअघि यात्रुले महुरे, बुईपा, राजापानी, रेग्मीटार र फोक्सिङटार हुँदै यात्रा गर्नुपर्ने अवस्था थियो। पछिल्लो समय दिक्तेल–आहाले–राजापानी हुँदै रेग्मीटार पुग्ने वैकल्पिक मार्ग प्रयोग गरिए पनि घर्तीभीरमा मोटरबाटो नभएकाले आवतजावत सहज थिएन। अब भने भीर काटेर सिधा सडक खुलाइएपछि यात्रा थप सहज र छोटो बनेको स्थानीयले बताएका छन्।
जोखिमपूर्ण गोरेटोबाट सुरक्षित सडकसम्म
घर्तीभीर पहिले अत्यन्त जोखिमपूर्ण गोरेटो बाटोका रूपमा परिचित थियो। तराई आउजाउ गर्ने स्थानीयले ढाकर र टेकुवा बोकेर यही भीर पार गर्नुपर्ने बाध्यता थियो। स्थानीयका अनुसार यस भीरबाट लडेर धेरै मानिसले ज्यान गुमाएका थिए भने खच्चडसमेत साप्सु खोलामा खसेर मर्ने घटना पटक–पटक हुने गरेको थियो। सडक निर्माणपछि दशकौँदेखिको जोखिम अन्त्य भएको स्थानीयवासीको भनाइ छ।
अपरेटर र निर्माण व्यवसायीलाई सम्मान
कडा चट्टान काटेर सडक निर्माण सफल बनाउने अपरेटर सिन्धुलीका प्रकाश लामा, हेटौँडाका प्रकाश पाख्रिन तथा निर्माण व्यवसायी अर्जुन बराललाई भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले सम्मान गरेको छ। स्थानीयले यो सडकलाई पूर्वी पहाडी क्षेत्रको महत्वपूर्ण पूर्वाधार उपलब्धिका रूपमा लिएका छन्। नयाँ सडक सञ्चालनमा आएपछि दिक्तेल–गाईघाट आवतजावत सहज हुनुका साथै व्यापार, कृषि तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
यो पनि पढ्नुहोस:आठ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया सुरु, अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण हुँदै, हुरीबाट शुक्लाफाँटका ८० परिवार प्रभावित, ६० घर र २० गोठमा क्षति, तीन वर्षदेखि कोमामा रहेकी थाइल्याण्डकी राजकुमारी बजरकितियाभाको निधन, केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयन, अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ, फ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडान अनुमति, पर्यटन व्यवसायी उत्साहित, इरानले अमेरिकी अपाचे हेलिकोप्टर खसाल्यो, अमेरिकाद्वारा केशम टापुमा प्रतिआक्रमण, बीवाईडी प्रकरणमा एमालेको घोटाला आरोप, अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा चलाउन राप्रपाको माग, न्यून चापीय वायुको प्रभाव कायम, आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा सहभागी नहुने भएका छन्, पोखरा बसपार्कका स्थानीयले आफैं हटाउन थाले घर–टहरा, भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनालले भने– नेपाल सरकारसँग कुनै पुरानो बोझ छैन, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply