अर्थमन्त्री वाग्लेले भने– दोस्रो चरणको आर्थिक सुधार तीव्रतासाथ अघि बढाइने

१४ चैत , काठमाडौं । नवनियुक्त अर्थमन्त्री Swarnim Wagle ले आर्थिक क्षेत्र सुधारका लागि आवश्यक नीतिगत परिवर्तनलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

शपथ ग्रहण पछि अर्थ मन्त्रालयमा पदबहाली गर्दै उनले विक्रम सम्बत् २०५० को दशकमा सुरु भएको नीतिगत सुधारलाई दोस्रो चरणमा अघि बढाउने तयारी भइरहेको बताएका छन्। उनले सुशासन, सेवा प्रवाह सुधार र आर्थिक पुनरूत्थानलाई प्राथमिकतामा राखेर परिणाममुखी काम गर्ने बताए।

वाग्लेले उल्लेख गरे, ‘घुस खुवाउन नपर्ने र लाइन बस्न नपर्ने अवस्था सिर्जना गर्नुपर्छ। सेवा प्रवाह सुधार अहिलेको सरकारको मुख्य एजेन्डा हो।’ कर्मचारीतन्त्र सुधारतर्फ संकेत गर्दै उनले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र जिम्मेवारी पूरा नगर्नेप्रति कडाइ गरिने स्पष्ट पारे।

पूर्वाधार विकास, विशेष गरी हवाई तथा स्थलगत कनेक्टिभिटी विस्तारलाई प्राथमिकतामा राखिने र न्यून तथा मध्यम आय भएका नागरिकलाई केन्द्रमा राखेर नीति निर्माण गरिने उनले बताए। प्रवासी नेपालीको लगानी भित्र्याउन अनुकूल वातावरण सिर्जना गर्ने र डायस्पोरालाई आर्थिक विकाससँग जोड्ने रणनीति अघि बढाइने उनको भनाइ छ।

स्वदेशी उद्यमशीलता प्रवर्द्धन र प्रशासनिक डिजिटाइजेसनलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रका कानुनी तथा व्यवहारिक समस्या पहिचान गरी समाधान गरिने वाग्लेले बताए। ठूला आयोजना र निवेशका लागि एकीकृत कानुन ल्याउने र आवश्यक कानुनहरू द्रुत गतिमा संशोधन गर्ने सम्भावना पनि उनले औंल्याए।

वाग्लेले आगामी नीति तथ्यमा आधारित हुने, विगतका सकारात्मक अभ्यासलाई निरन्तरता दिने, संसद र संसदीय समितिलाई प्रभावकारी बनाउँदै विधायिकी कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार, सरकारले सन् २०२६ सम्म नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने लक्ष्यसहित काम अघि बढाउनेछ।


यो पनि पढ्नुहोस्