चैत १५ | काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्ने म्याद थपसम्बन्धी निवेदनमा अदालतमा भएको बहस सकिएको छ। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा म्याद थपबारेको बहस सम्पन्न भएको हो। सरकारी वकिलले दुवैलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गर्दै निवेदन दायर गरेका थिए। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित आयोगले उनीहरूमाथि फौजदारी कारबाही गर्न सिफारिस गरेको थियो। सोही आधारमा शनिबार बिहान पक्राउ पुर्जी जारी गरी दुवैलाई नियन्त्रणमा लिइएको हो। अदालतमा भएको सुनुवाइमा रमेश लेखक स्वयं उपस्थित भएका थिए भने स्वास्थ्य समस्याका कारण केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल रूपमा उपस्थित भएका थिए। म्याद थपसम्बन्धी निवेदनमा अब इजलासले केहीबेरमै निर्णय सुनाउने अदालत स्रोतले जनाएको छ।

