भेनेजुएला भूकम्प : मृतकको संख्या १८८ पुग्यो, आफन्तको खोजीमा फोटोसहितको सूचना टाँस्न थाले

१२ असार,  भेनेजुएला । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ। हालसम्म १ हजार ५०० भन्दा बढी व्यक्ति घाइते भएका छन् भने दुई सयभन्दा बढी मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ। हजारौँ नागरिकसँग सम्पर्क हुन नसकेको अधिकारीहरूले बताएका छन्। स्थानीय समयअनुसार बुधबार साँझ ६:०४ बजे करिब ४० सेकेण्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएका थिए। लगातार दुईवटा ठूलो भूकम्प आएपछि देशभर व्यापक जनधनको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।

भूकम्पपछि सरकारले देशभर संकटकाल घोषणा गरेको छ। राजधानी कराकाससहित प्रभावित क्षेत्रका विमानस्थल बन्द गरिएका छन् भने सडक यातायात, विद्युत्, खानेपानी र सञ्चार सेवा समेत प्रभावित बनेका छन्। धेरै स्थानमा आधारभूत सेवासमेत ठप्प भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प क्यारिबियन तट नजिकको मोरोन क्षेत्रको पश्चिमतर्फ २२ किलोमिटर गहिराइमा गएको थियो। त्यसको केही क्षणपछि १० किलोमिटर गहिराइमा ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प आएको थियो। राष्ट्रिय बिदाको दिन परेकाले अधिकांश मानिस घरमै रहेका बेला भूकम्प गएको थियो। यसको धक्का देशभर महसुस भएको थियो भने छिमेकी कोलम्बियाको राजधानी बोगोटासम्म कम्पन पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सबैभन्दा बढी क्षति राजधानी कराकासको उत्तरमा रहेको तटीय क्षेत्र ला ग्वाइरामा भएको छ। त्यहाँको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेपछि बन्द गरिएको छ, जसले उद्धार तथा राहत कार्यलाई थप कठिन बनाएको छ। उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालित भए पनि कतिपय स्थानमा राहत पुग्न ढिलाइ भएको स्थानीयले बताएका छन्। त्यसका कारण धेरै भूकम्प पीडित आफैं भग्नावशेष हटाएर आफ्ना आफन्तको खोजीमा जुटेका छन्। राजधानी बाहिर सरकारी उद्धार टोलीको उपस्थिति न्यून रहेको गुनासो पनि आएको छ। टेलिभिजन र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भग्नावशेषबाट जीवित व्यक्तिको उद्धार, घाइतेहरूको उपचार तथा आफन्त गुमाएकाहरूको पीडादायी दृश्य प्रसारण गरिरहेका छन्। ला ग्वाइरामा एक आमाले आफ्ना दुई सन्तानको शव बोकेर रोइरहेको दृश्यले देशभर भावुक बनाएको बताइएको छ।

अन्तर्राष्ट्रिय सहयोग जुट्दै

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर संकटकाल घोषणा गर्दै उद्धार कार्यलाई तीव्र बनाइएको जानकारी दिएकी छन्। उनले अस्पताल, घर तथा सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि २० करोड अमेरिकी डलरको विशेष कोष स्थापना गर्ने घोषणा पनि गरेकी छन्। साथै निजी क्षेत्रलाई उद्धारका लागि आवश्यक भारी उपकरण उपलब्ध गराउन आग्रह गरिएको छ।

डोमिनिकन गणतन्त्रबाट पहिलो विदेशी उद्धार टोली पुग्ने तयारीमा रहेको छ भने अमेरिका, मेक्सिको, ब्राजिल, कतार, स्पेन, पोर्चुगल र क्यानडालगायत देशहरूले उद्धार टोली, चिकित्सकीय सामग्री, खोजी कुकुर, पानी शुद्धीकरण उपकरण तथा अन्य राहत सामग्री पठाउने घोषणा गरेका छन्। भूकम्पपछि राहत कार्य सहज बनाउन अमेरिकाले भेनेजुएलामाथि लागू गरेका केही आर्थिक प्रतिबन्ध अस्थायी रूपमा अक्टोबर २३ सम्मका लागि खुकुलो बनाएको जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कार्यवाहक राष्ट्रपति रोड्रिगेजसँग टेलिफोन वार्ता गर्दै आवश्यक मानवीय सहायता तत्काल उपलब्ध गराइरहेको बताएका छन्।

आफन्तको खोजीमा फोटोसहित सूचना

भूकम्पपछि कराकासका धेरै क्षेत्रमा मोबाइल नेटवर्क र विद्युत् सेवा अवरुद्ध भएका कारण परिवारहरू आफ्ना आफन्तसँग सम्पर्क गर्न सकिरहेका छैनन्। सरकारले विद्यालयहरू केही दिनका लागि बन्द गर्दै कतिपय विद्यालय भवनलाई अस्थायी आश्रयस्थल र राहत वितरण केन्द्रका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ। यसैबीच, समाचार एजेन्सी एपीका अनुसार आफ्ना हराएका परिवारका सदस्यको खोजीमा स्थानीयले सडक, सार्वजनिक भवन र आश्रयस्थलहरूमा फोटोसहितका सूचना टाँस्न थालेका छन्। विदेशमा रहेका हजारौँ भेनेजुएली पनि आफ्ना परिवारसँग सम्पर्क गर्न नसक्दा चिन्तित बनेका छन्।


यो पनि पढ्नुहोस: मेडिकल सिट संख्या बढाउने निर्णय फिर्ता गर्न डा. गोविन्द केसीको माग(रास्वपा) को प्रथम महाधिवेशन | मतदान १२ बजेसम्म चल्ने, करिब ३ हजार मत खस्ने अनुमानचोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति स्वदेश फिर्ताफेवातालमा डुबेका युवकको उपचारका क्रममा मृत्युएमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ, के छन् आरोप ?विनोद शाही हत्या : फैसला, कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्म कैद,  लागुऔषधसहित वडा सदस्य रूपा जैरू पक्राउ | , हास्य कलाकार खेम शर्माको निधन,  बाढी र पहिरोको प्रभाव : देशका विभिन्न राजमार्गमा यातायात प्रभावित,   पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्