१० असार, काठमाडौं । नेपालबाट वर्षौंअघि चोरी गरी अमेरिका लगिएका दुई महत्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक सम्पदा नेपाललाई फिर्ता गरिएको छ। अमेरिकाको न्युयोर्कमा आयोजित विशेष समारोहमार्फत पद्मपाणी र नृत्यदेवीका दुर्लभ मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा सम्पन्न कार्यक्रममा महावाणिज्यदूत दधिराम भण्डारी र म्यानहटन सरकारी वकिल कार्यालयअन्तर्गत पुरातात्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख म्याथ्यु बोग्डानोस ले हस्तान्तरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।
महावाणिज्यदूतावासका अनुसार तेह्रौँ शताब्दीको कास्य निर्मित पद्मपाणी मूर्ति काठमाडौंको विक्रमशील महाविहार को महत्वपूर्ण कलाकृतिमध्ये एक हो। अभिलेखअनुसार उक्त मूर्ति सन् १९७१ पछि कुनै समयमा अवैध रूपमा अमेरिका पुर्याइएको थियो। त्यसैगरी, सोह्रौँ शताब्दीको काठबाट बनेको नृत्यदेवीको मूर्ति इबहा बही को उत्कृष्ट काष्ठकलाको नमुना मानिन्छ। यो मूर्ति पनि दशकौँअघि चोरी भएर अमेरिका पुगेको अनुमान गरिएको छ। पछि उक्त मूर्ति न्युयोर्कस्थित Metropolitan Museum of Art बाट फेला परेको थियो।
अमेरिकी निकायहरूको सहयोगमा दुवै सम्पदाको खोजी गरी नेपाललाई फिर्ता गरिएको हो। समारोहमा बोल्दै महावाणिज्यदूत भण्डारीले नेपालका सांस्कृतिक सम्पदा संरक्षणमा सहयोग पुर्याउने अमेरिकी सरकार, अनुसन्धान निकाय, सम्पदा संरक्षणकर्मी तथा नेपाली समुदायप्रति आभार व्यक्त गरे। उनले नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको अवैध ओसारपसार रोक्न तथा हराएका सम्पदा फिर्ता ल्याउन विकसित सहकार्यलाई सकारात्मक उपलब्धिको रूपमा व्याख्या गरे।
फिर्ता गरिएका दुवै मूर्ति जुन २५ मा नेपाल पठाइने तयारी गरिएको छ। नेपाल आइपुगेपछि ती सम्पदा पुरातत्त्व विभाग लगायत सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ। दशकौँपछि आफ्नै थातथलो फर्किन लागेका यी दुर्लभ सम्पदालाई नेपालको सांस्कृतिक सम्पदा संरक्षण अभियानको महत्वपूर्ण सफलता मानिएको छ।
यो पनि पढ्नुहोस:फेवातालमा डुबेका युवकको उपचारका क्रममा मृत्यु, एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ, के छन् आरोप ?, विनोद शाही हत्या : फैसला, कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्म कैद, लागुऔषधसहित वडा सदस्य रूपा जैरू पक्राउ | , हास्य कलाकार खेम शर्माको निधन, बाढी र पहिरोको प्रभाव : देशका विभिन्न राजमार्गमा यातायात प्रभावित, पासपोर्ट ठेक्का प्रकरण : आरजु राणा पनि अख्तियार अनुसन्धानमा, कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च, काभ्रे बस दुर्घटना : मृतकको सम्झनामा रोशी गाउँपालिकाले शुक्रबार शोक बिदा दिने, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply