२४ जेठ, काठमाडौं । इरानको राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ मा सहभागी हुन अमेरिकाको भिसा प्राप्त गरेको छ। अमेरिका र इरानबीच सैन्य तनाव तथा द्वन्द्व जारी रहेकै अवस्थामा टोलीले प्रतियोगिताको सुरुआत हुनुभन्दा १० दिनअघि प्रवेश अनुमति पाएको हो। मेक्सिकोका लागि इरानी राजदूत अबोलफजल पसन्दिदेहले बिहीबारसम्म टोलीले अमेरिकी भिसा नपाएको जानकारी दिएका थिए। तर ह्वाइट हाउसका एक अधिकारीका अनुसार रातारात प्रक्रिया पूरा गरी खेलाडीहरूलाई भिसा जारी गरिएको हो।
टर्कीका लागि अमेरिकी राजदूत टम बाराकले सामाजिक सञ्जाल एक्समार्फत भिसा स्वीकृत भएको पुष्टि गर्दै अंकारास्थित अमेरिकी दूतावासको टोलीलाई धन्यवाद दिएका छन्। बीबीसीका अनुसार पनि वाशिङ्टनले इरानी टोलीलाई भिसा प्रदान गरिएको पुष्टि गरिसकेको छ। यद्यपि टोलीका केही प्राविधिक तथा प्रशासनिक सदस्यहरूले भने अझै भिसा नपाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यस विषयमा इरान फुटबल महासंघले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
विश्वकप इतिहासमा पहिलो पटक यस्तो घटना
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार सन् १९३० मा विश्वकप सुरु भएयता आयोजक राष्ट्रले आफू युद्धरत रहेको देशको राष्ट्रिय टोलीलाई प्रतियोगितामा स्वागत गर्न लागेको यो पहिलो घटना हो। भिसा प्रक्रियामा ढिलाइ भएपछि इरानले आफ्नो प्रशिक्षण शिविर अमेरिकाको एरिजोनाबाट मेक्सिकोको टिजुआनामा सारेको थियो। इरानभित्र पनि टोलीको अमेरिका बसाइ छोटो बनाउनुपर्ने धारणा बलियो रहेको बताइएको छ।
इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डविरुद्ध समूह ‘जी’ अन्तर्गत पहिलो खेल खेल्नेछ। त्यसपछि बेल्जियमसँग लस एन्जलसमै प्रतिस्पर्धा गर्नेछ भने अन्तिम समूह चरणको खेल सियाटलमा इजिप्टविरुद्ध हुनेछ। राष्ट्रिय टोलीको नेतृत्व मुख्य प्रशिक्षक अमिर घालेनोईले गर्नेछन्।
‘शान्तिको संकेत’ भन्दै इरानको प्रतिक्रिया
इरानी राजदूत पसन्दिदेहले अमेरिकाले औपचारिक रूपमा इरानी टोलीलाई प्रवेश निषेध नगरेको स्पष्ट पारेका छन्। उनका अनुसार विश्वकपमा सहभागी हुने इरानको निर्णयले युद्ध र तनावबीच पनि संवाद तथा समाधान खोज्ने प्रयासलाई प्रतिबिम्बित गर्छ।
उनले भने, “इरानले आफ्नो शत्रु मानिने देशको भूमिमा विश्वकप खेल्न जानु उसले शान्ति चाहेको संकेत हो।” यता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्ससँग सम्बन्धित व्यक्तिहरूलाई विश्वकप प्रतिनिधिमण्डलमा सहभागी हुन नदिइने बताएका छन्। हाल अमेरिका र इरानबीच शान्ति वार्ता सुस्त गतिमा अघि बढिरहेको छ। दुवै पक्ष अन्तरिम सहमतितर्फ बढिरहेको संकेत देखिए पनि क्षेत्रीय तनाव र सैन्य गतिविधि भने पूर्ण रूपमा रोकिएका छैनन्।
यो पनि पढ्नुहोस: भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनालले भने– नेपाल सरकारसँग कुनै पुरानो बोझ छैन, विश्व वातावरण दिवस २०२६ देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै, कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा, सांसदलाई ४ अर्ब ३२ करोड बजेट बाँड्दै बागमती सरकार, प्रत्यक्ष सांसदलाई ५ करोडसम्म, सरकारले २५ संस्था खारेज , बैंकमा निष्क्रिय रहेको कोषको रकम सरकारले चलाउने, हकवालाले दाबी गरे फिर्ता हुने, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply