१२ साउन, काठमाडौं । रासायनिक मल खरिद गर्न भारत गएका दुई नेपाली किसान भारतीय जेलमा रहेको भन्दै नेपाली कांग्रेसले उनीहरूको शीघ्र रिहाइका लागि सरकारले तत्काल कूटनीतिक र कानुनी पहल गर्नुपर्ने माग गरेको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै सर्लाहीको बलरा नगरपालिकाका किसान सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह विगत २० दिनदेखि भारतको बिहारस्थित सीतामढी डुमरा जेलमा रहेको उल्लेख गरेका छन्।
नेपालमा मल नपाएपछि भारत पुगेका किसान
विज्ञप्तिअनुसार नेपालमा समयमै रासायनिक मल उपलब्ध नभएपछि दुवै किसान भारतीय सीमावर्ती बजार सोनवरसाबाट मल खरिद गरी फर्किने क्रममा भारतीय सुरक्षा निकायको नियन्त्रणमा परेका थिए। कांग्रेसले परिवार र स्थानीय समुदायसँग जानकारी लिएपछि उनीहरू व्यावसायिक तस्करीका लागि नभई आफ्नै खेतमा प्रयोग गर्न मल किन्न गएको निष्कर्ष निकालेको जनाएको छ।
किसानले वर्षौँदेखि भोग्दै आएको समस्या
कांग्रेसले यो घटनालाई देशभरका किसानले भोगिरहेको मल अभावको प्रतिनिधिमूलक उदाहरण भएको जनाएको छ। विज्ञप्तिमा समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउन नसक्दा किसानहरूले हरेक वर्ष खेतीपातीको समयमा सास्ती भोग्नुपरेको उल्लेख गर्दै आपूर्ति व्यवस्थापन, योजना र प्रशासनिक कमजोरीको प्रत्यक्ष असर किसानमाथि परेको बताइएको छ।
सरकारलाई तत्काल पहल गर्न आग्रह
नेपाली कांग्रेसले खेतीका लागि आवश्यक दुई बोरा युरिया र डीएपी मल ल्याउने क्रममा पक्राउ परेका किसानलाई २० दिनसम्म जेलमा राखिएकोप्रति दुःख व्यक्त गर्दै उनीहरूको रिहाइका लागि सरकारले व्यावहारिक, कूटनीतिक र कानुनी प्रक्रियामार्फत तत्काल पहल गर्न आग्रह गरेको छ।
भारत सरकारसँग पनि अनुरोध
कांग्रेसले भारत सरकारसमक्ष पनि नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा र दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई ध्यानमा राख्दै पक्राउ परेका किसानको रिहाइ तथा आवश्यक कानुनी सहजीकरण गरिदिन अनुरोध गरेको छ। साथै, यस्ता संवेदनशील विषयलाई दुवै देशले पारस्परिक विश्वास र जनस्तरको सम्बन्धलाई सम्मान गर्दै समाधान गर्नुपर्नेमा पनि जोड दिएको छ।
यो पनि पढ्नुहोस:झापाको बोर्डिङ स्कुलमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन, टिकटकमा देखिएको ९ हजारको चाँदीको हार किन्न खोज्दा यसरी लुटियो ९७ हजार रुपैयाँ, युरोपमा भीषण वनडढेलो: फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी विस्थापित, दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु, पर्सामा आँप बगैँचाबाट १४० किलो गाँजा बरामद, १०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास, ८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात



















Leave a Reply