टिकटकमा देखिएको ९ हजारको चाँदीको हार किन्न खोज्दा यसरी लुटियो ९७ हजार रुपैयाँ

टिकटकमा देखिएको ९ हजारको चाँदीको हार किन्न खोज्दा यसरी लुटियो ९७ हजार रुपैयाँ

११ साउन, काठमाडौं । टिकटकमा देखिएको ९ हजार रुपैयाँको चाँदीको हार किन्न खोज्दा ललितपुरकी एक महिलाको ९७ हजार ८४३ रुपैयाँ २१ पैसा लुटियो । नक्कली अनलाइन पसल, क्यूआर कोड र ‘रिफन्ड’को बहानामा गरिएको यो साइबर ठगी अहिले पनि सक्रिय रहेको खुलेको छ।

टिकटकको विज्ञापनबाट सुरु भयो सम्पर्क

ललितपुरकी ३१ वर्षीया रमिला शर्मा (नाम परिवर्तन) ले टिकटकको ‘For You’ पेजमा ‘SKS ONLINE SHOP’ नामको पेजमा चाँदीको लकेटको विज्ञापन देखेकी थिइन्।

उक्त अकाउन्टमा झण्डै ८ हजार फलोअर थिए। प्रोफाइलमा भक्तपुरको ठेगाना र स्मार्टसेलको नम्बर राखिएको थियो। ह्वाट्सएपमार्फत सम्पर्क गर्दा विक्रेताले आफूले मागेको डिजाइनको लकेट बनाइदिने भन्दै २ हजार रुपैयाँ एड्भान्स माग्यो।

इसेवा होइन, बैंक खातामा रकम पठाउन लगाइयो

रमिलाले सुरुमा डिजिटल वालेटको Escrow सुविधा प्रयोग गर्न चाहेको बताइन्। तर विक्रेताले इसेवामा लिमिट भएको भन्दै बैंक खातामै रकम पठाउन आग्रह गर्‍यो।

उनले २ हजार रुपैयाँ बैंक खातामा पठाइन् र सामानको प्रतीक्षा गर्न थालिन्।

‘रकम आएको छैन’ भन्दै सुरु भयो ठगी

दुई दिनसम्म सामान नआएपछि उनले विक्रेतासँग सम्पर्क गरिन्। त्यसपछि विक्रेताले बैंकमा रकम नआएको दाबी गर्दै बैंक स्टेटमेन्ट माग्यो।

रमिलाले आफ्नो बैंक स्टेटमेन्टको स्क्रिनसट पठाइन्। सुरुमा ब्यालेन्स ब्लर गरेर पठाए पनि पछि भिडियो कल र स्क्रिन शेयर गराएर ठगी गर्ने समूहले उनको खातामा एक लाख रुपैयाँभन्दा बढी रकम रहेको जानकारी पायो।

क्यूआर स्क्यानपछि खाताबाट गायब भयो ९७ हजार रुपैयाँ

त्यसपछि ठगी गर्ने व्यक्तिले एउटा QR कोड पठाएर स्क्यान गर्न लगायो।

उसले रिमार्कमा “To Refund money 2010 0097843.21” लेख्न र पछाडिको नम्बर ००९७८४३.२१ कपी गरेर माथिको रकम राख्ने बक्समा पेस्ट गर्न लगायो।

रमिलाले त्यो रकम नभई ट्र्याकिङ कोड हो भन्ने विश्वास गरिन्। अन्तिममा मोबाइल बैंकिङको PIN समेत प्रविष्ट गरेपछि उनको खाताबाट ९७ हजार ८४३ रुपैयाँ २१ पैसा तत्काल काटियो।

रकम फिर्ता दिने आश्वासन, त्यसपछि सम्पर्कविहीन

रकम काटिएको थाहा पाएपछि उनले तत्काल विक्रेतासँग सम्पर्क गरिन्। सुरुमा “झुक्किएर रकम आएको हो, फिर्ता गरिदिन्छु” भनिए पनि पछि सम्पर्क नै बन्द भयो।

त्यसपछि उनले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइन्।

टिकटक अकाउन्ट अझै सक्रिय

उजुरी परेपछि पनि सम्बन्धित टिकटक अकाउन्ट अझै सक्रिय रहेको पीडितले बताएकी छन्। ग्राहक बनेर सम्पर्क गर्दा अहिले पनि जवाफ आउने गरेको छ।

प्रयोग गरिएको स्मार्टसेल नम्बरबाट फोन भने नलाग्ने भए पनि ह्वाट्सएपमार्फत च्याट भइरहेको देखिएको छ।

अनलाइन किनमेल गर्दा अपनाउनुपर्ने सावधानी

  • अपरिचित विक्रेतालाई बैंक खातामा अग्रिम रकम नपठाउने।
  • सम्भव भएसम्म Escrow वा सुरक्षित भुक्तानी प्रणाली प्रयोग गर्ने।
  • QR कोड स्क्यान गरेर रिफन्ड पाइन्छ भन्ने दाबीमा विश्वास नगर्ने।
  • मोबाइल बैंकिङ वा वालेटमा रकम पठाउँदा Amount मा देखिएको अंक ध्यानपूर्वक जाँच गर्ने।
  • आफ्नो PIN, OTP वा स्क्रिन शेयर कसैलाई पनि उपलब्ध नगराउने।
  • शंका लागेमा तुरुन्त बैंक र साइबर ब्युरोमा सम्पर्क गर्ने।

साइबर सुरक्षा विज्ञहरूका अनुसार पछिल्लो समय ‘रिफन्ड’, ‘अर्डर कन्फर्म’ र ‘भेरिफिकेसन’ को बहानामा हुने यस्ता ठगीका घटना बढिरहेका छन्। त्यसैले अनलाइन किनमेल गर्दा अतिरिक्त सावधानी अपनाउन आवश्यक छ।


यो पनि पढ्नुहोस:युरोपमा भीषण वनडढेलो: फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी विस्थापित, दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु, पर्सामा आँप बगैँचाबाट १४० किलो गाँजा बरामद,  १०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ,  बंगलादेशका राष्ट्रपति शाहावुद्दिनले दिए राजीनामाआन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीधेरै सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन, कोशी अस्पतालको सरकारी जग्गामा डोजर,  गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

Leave a Reply

Your email address will not be published. Required fields are marked *