१५ चैत्र | काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरूसँग बैठक गर्दै समग्र अवस्था, प्रगति, चुनौती र आगामी कार्यदिशाबारे छलफल गरेका छन्। बैठकमा मन्त्री श्रेष्ठले मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेका आयोजना तथा कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिए। ऊर्जा क्षेत्रको दिगो विकास, जलस्रोतको उचित उपयोग र सिँचाइ विस्तारमार्फत कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य हासिल गर्न स्पष्ट योजना, समयमै कार्यान्वयन र जिम्मेवार कार्यशैली आवश्यक रहेको उनले बताएका छन्।
उनले मन्त्रालयभित्र समन्वय, अनुशासन र परिणाममुखी कार्यसंस्कृति विकास गर्नुपर्ने उल्लेख गर्दै कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध र इमानदार भई काम गर्न निर्देशन दिए। जनताले प्रत्यक्ष महसुस गर्ने परिणाम दिने कामलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनले ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे।साथै, देखिएका चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै नीति, योजना र कार्यान्वयनबीच प्रभावकारी समन्वय कायम गर्ने प्रतिबद्धता समेत मन्त्री श्रेष्ठले व्यक्त गरेका छन्।

