३० कात्तिक, काठमाडौं ।
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम राख्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन कडा निर्देशन दिएका छन्। नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै अर्थमन्त्री वाग्लेले बैंकहरूलाई अनुत्पादक क्षेत्रमा लगानी रोक्न र खराब कर्जा असुली प्रक्रियालाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गरेका हुन्।
नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको बैंकले आगामी दिनमा सुशासनका उच्च मापदण्ड कायम राख्नुपर्नेमा उनले जोड दिए। डिजिटल रूपान्तरणमार्फत सर्वसाधारणलाई सरल, सहज र पारदर्शी बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने बताउँदै अर्थमन्त्री वाग्लेले नेपाल सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेका तीन बुँदे कार्यसूची पूर्ण रूपमा कार्यान्वयन गर्न बैंक व्यवस्थापनलाई स्पष्ट निर्देशन दिएका छन्।
बैंकको समग्र कार्यप्रणालीलाई पारदर्शी बनाएर जनविश्वास अभिवृद्धि गर्नुपर्ने, संस्थागत कमजोरीहरूलाई तत्काल सुधार गर्नुपर्ने तथा तथ्याङ्क सुरक्षामा विशेष संवेदनशील हुनुपर्ने उनको भनाइ थियो। आगामी दिनमा डिजिटल बैंकिङको दायरा विस्तार गर्दै लघु, साना तथा मझौला उद्यमहरूलाई सहज वित्तीय पहुँच दिलाउन, हरित अर्थतन्त्रको प्रवर्द्धन गर्न र वित्तीय साक्षरता अभिवृद्धिमा नेपाल बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता उनले औँल्याए।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपालमा बैंकिङ इतिहासको सुरुआत गर्दै स्थापना भएको नेपाल बैंकले देशमा बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन र पुँजी निर्माणमा ऐतिहासिक योगदान पुर्याएको बताए। मुलुकको औद्योगिक तथा व्यापार व्यवसायको विकास र विस्तारमा बैंकले सधैं महत्त्वपूर्ण भूमिका खेलेको धारणा उनले व्यक्त गरे।
प्रमुख कार्यकारी अधिकृत पाण्डेयले प्रस्तुत गरेको वित्तीय विवरण अनुसार बैंकको हालको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। बैंकले कुल ४ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। हाल बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात ४.१८ प्रतिशत रहेको जानकारी कार्यक्रममा दिइयो।
मुलुकका ७१ जिल्लामा आफ्नो शाखा संजाल विस्तार गरेको यस बैंकका ग्राहक संख्या २९ लाख २४ हजार पुगेका छन् भने बैंकमा ३ हजार ६०० कर्मचारी कार्यरत छन्। त्यसैगरी, देशभर २५० वटा एटिएममार्फत सेवा दिइरहेको बैंकका १० लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन्।
थप उपयोगी लिङ्कहरू
Tourism & Management · Citizen Responsibility · Skill Services · Ramesh Poudel
यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com






















Leave a Reply