१९ चैत काठमाडौं । डोनाल्ड ट्रम्प को सम्बोधनपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। इरान मा जारी युद्धबारे ह्वाइट हाउसमा गरिएको सम्बोधनपछि तेल बजारमा उतारचढाव देखिएको हो। BBC का अनुसार सम्बोधनकै क्रममा बेन्चमार्क ब्रेन्ट क्रुड को मूल्यमा तीव्र परिवर्तन आएको थियो।
सम्बोधन सकिएलगत्तै तेलको मूल्य झण्डै ४ प्रतिशतले बढेर प्रति ब्यारेल १०५.३८ डलर पुगेको छ। विशेषगरी होर्मुज स्ट्रेट सम्बन्धी ट्रम्पले नयाँ घोषणा गर्न सक्ने अनुमान गरिएको थियो। तर, कुनै स्पष्ट अपडेट नआएपछि बजारमा अनिश्चितता बढ्दै मूल्य उकालो लागेको विश्लेषण गरिएको छ। होर्मुज स्ट्रेट विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग मानिन्छ। विश्वको करिब २० प्रतिशत ऊर्जा व्यापार यही मार्गबाट हुने गर्छ।
फेब्रुअरी २८ देखि सुरू भएको द्वन्द्वपछि यो मार्ग लगभग प्रभावित बनेको छ। इरानले अमेरिकी–इजरायली हवाई आक्रमणको जवाफस्वरूप होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएको छ। युद्ध र आपूर्ति जोखिमका कारण आगामी दिनमा पनि तेलको मूल्यमा थप अस्थिरता देखिन सक्ने अनुमान गरिएको छ।

