इरानले ७ दिन माग्दा १० दिन दिएको दाबी ट्रम्पको, ऊर्जा केन्द्रमा आक्रमण रोक्ने अवधि थपियो

१३ चैत | काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्न सात दिनको समय मागेको र आफूले त्यसको सट्टा १० दिनको समय दिएको बताएका छन्। उनले यस निर्णयप्रति तेहरान निकै आभारी रहेको दाबी पनि गरेका छन्।

Fox Newsसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले अमेरिका र इरानबीचको संवाद सकारात्मक दिशामा अघि बढिरहेको बताए। उनका अनुसार इरानले उनका प्रतिनिधिहरूमार्फत थप समय मागेको थियो।

ट्रम्पले भने, “उनीहरूले सात दिन मागेका थिए, तर मैले १० दिन दिन्छु भनेँ।” उनले यसअघि उल्लेख गरेका ‘उपहार’ सम्बन्धी विषयमा पनि संकेत गर्दै केही जहाजहरूको आदानप्रदान भएको दाबी गरे।

यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Socialमार्फत इरानी ऊर्जा केन्द्रहरूमा आक्रमण रोक्ने समय पाँच दिनबाट बढाएर दुई हप्तासम्म पुर्‍याइएको जानकारी दिएका थिए। यो अवधि अब अप्रिल ६ सम्म कायम रहने बताइएको छ।

ह्वाइट हाउसमा भएको एक क्याबिनेट बैठकमा ट्रम्पले इरानले वार्ताका क्रममा होर्मुजको जलडमरूमध्यबाट तेल ट्याङ्करहरूलाई आवतजावत गर्न दिएको बताएका थिए।

तर, इरानले भने अमेरिका सँग कुनै पनि प्रकारको युद्ध अन्त्यसम्बन्धी वार्ता भइरहेको दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ।


यो पनि पढ्नुहोस्