२९ साउन, काठमाडौं । अविरल वर्षासँगै रोल्पाको थबाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएको भीषण पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ। पहिरोमा परी अझै तीन जना बेपत्ता छन् भने दुई जना गम्भीर घाइते भएका छन्।
पहाडको माथिल्लो भेगबाट खसेको ठूलो पहिरोले स्थानीय बस्तीका घर तथा गोठहरू पुरिएका थिए। स्थानीय प्रशासन तथा प्रहरीका अनुसार पहिरोमा ज्यान गुमाएका सबै १० जनाको सनाखत भइसकेको छ। पहिरोको तीव्र बहावका कारण बगेका पाँच जनाको शव भने छिमेकी जिल्ला प्युठानको सीमा क्षेत्रमा फेला परेको सुरक्षा निकायले पुष्टि गरेको छ।
पहिरोमा पुरिएर घाइते भएका दुई जनालाई उद्धार गरी तत्काल प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
रोल्पाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीका अनुसार भौगोलिक विकटता र निरन्तरको प्रतिकूल मौसमका कारण उद्धार कार्यमा चुनौती थपिएको छ। वर्षा अझै नरोकिएकाले भिरालो तथा पहिरोको उच्च जोखिम रहेका आसपासका बस्तीहरूलाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।



















Leave a Reply