२९ साउन, काठमाडौं । सिटिजन्स बैंककी नङ्गशल तामाङ र विभागीय टोली एपीएफकी रिहाना सेरचनको जोडी लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको महिला युगलतर्फ क्वार्टरफाइनल (अन्तिम आठ) मा प्रवेश गरेको छ। ललितपुरस्थित यल स्पोर्ट्स एकेडेमीको कभर्डहलमा जारी प्रतियोगितामा उनीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन्।
प्रतियोगिताअन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा नङ्गशल र रिहानाको जोडीले नेपाल पुलिस क्लबका श्रेया बज्राचार्य र अश्मिता खत्रीको जोडीलाई सोझो सेटमा पराजित गर्यो। पहिलो सेट २१–१५ ले सहजै आफ्नो पक्षमा पारेको यो जोडीले दोस्रो सेटमा कडा चुनौतीको सामना गर्नुपरेको थियो। निकै रोमाञ्चक र तनावपूर्ण बनेको दोस्रो सेट २३–२१ ले जित्दै उनीहरूले खेल २–० ले आफ्नो पक्षमा पारेका हुन्।
नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोग तथा सहआयोजक यल स्पोर्ट्स एकेडेमीको व्यवस्थापनमा सञ्चालित यस प्रतियोगिता राष्ट्रिय वरीयता निर्धारणका लागि महत्त्वपूर्ण मानिन्छ। शीर्ष वरीयताका खेलाडीहरूको सहभागिता रहेको यस प्रतियोगितामा विभिन्न विभागीय टोली तथा क्लबका खेलाडीहरू प्रतिस्पर्धा गरिरहेका छन्।
महिला युगलतर्फ जित निकालेर अन्तिम आठमा पुगेका नङ्गशल र रिहानाको जोडीले अब सेमिफाइनल प्रवेशका लागि आगामी चरणमा कडा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका अन्य विधाका खेलहरू पनि जारी रहेका छन्।



















Leave a Reply