१५ जेठ, काठमाडौं | सरकारले आगामी आर्थिक वर्षका लागि भौतिक तथा डिजिटल पूर्वाधारलाई केन्द्रमा राख्दै अहिलेसम्मकै ठूलो बजेट ल्याउने तयारी गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले बजेटको आकार घटाउने भन्दा पनि विकास निर्माण, डिजिटल विस्तार र कर्मचारीको तलब वृद्धिमा ध्यान केन्द्रित गरेको छ ।
यसअघि राष्ट्रिय योजना आयोग अन्तर्गत स्रोत समितिले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्बको सीमा तय गरेको थियो । तर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त सीमाभन्दा करिब ३ देखि साढे ३ खर्ब रुपैयाँ बढीको बजेट ल्याउने तयारी गरेको स्रोतको दाबी छ ।मध्यकालीन खर्च संरचना (एमडीईएफ) ले सरकारलाई २१ खर्ब २८ अर्ब रुपैयाँसम्मको बजेट ल्याउन सक्ने सुविधा दिएको थियो । अहिले उपलब्ध वित्तीय क्षेत्रको सम्भावनालाई पूर्ण प्रयोग गर्दै सरकारले २२ खर्बदेखि साढे २२ खर्ब रुपैयाँसम्मको बजेट ल्याउने तयारी गरेको बताइएको छ ।
राजस्व, ऋण र वैदेशिक सहायता मार्फत स्रोत व्यवस्थापन
सरकारले आगामी वर्ष राजस्व संकलनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरेको छ । चालु आर्थिक वर्षमा १२ खर्ब ९८ अर्ब रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान गरिएको छ । आगामी वर्ष त्यसलाई बढाएर १७ खर्ब ५७ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य राख्ने तयारी भइरहेको छ ।त्यस्तै सरकारले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को साढे ५ प्रतिशतसम्म आन्तरिक ऋण उठाउन सक्ने व्यवस्था अनुसार करिब ३ खर्ब ६३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन सक्नेछ ।वैदेशिक ऋण र अनुदानमार्फत पनि करिब साढे ३ खर्ब रुपैयाँ स्रोत जुटाउने तयारी भइरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
ठूला पूर्वाधारमा केन्द्रित हुने बजेट
सरकारले विशेषगरी सडक, पुल र अधुरा ठूला परियोजनालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गर्ने रणनीति बनाएको छ ।भौतिक पूर्वाधार, शहरी विकास र खानेपानी मन्त्रालयलाई एकीकृत गरिसकिएकाले अब एउटै मन्त्रालयमार्फत ठूला पूर्वाधार योजनामा बजेट केन्द्रित गरिने भएको छ । सडक तथा पुल निर्माणमा गत वर्षको तुलनामा दोब्बर बजेट विनियोजन हुन सक्ने स्रोतको भनाइ छ ।सरकारले केही महत्वाकांक्षी परियोजनालाई ‘क्रिटिकल परियोजना’ घोषणा गरेर विशेष बजेट व्यवस्था गर्ने तयारी समेत गरेको छ ।
डिजिटल हाइवेमा उच्च प्राथमिकता
आगामी आर्थिक वर्षको बजेटमा डिजिटल पूर्वाधारलाई पनि भौतिक पूर्वाधारसरह महत्व दिइने भएको छ ।देशभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट विस्तार, सरकारी सेवा डिजिटल माध्यमबाट प्रवाह, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर निर्माण तथा डेटा सेन्टर स्थापना जस्ता कार्यक्रमलाई बजेटले प्राथमिकतामा राख्नेछ ।
सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्ने तयारी पनि सरकारले गरेको छ । नागरिक एपमार्फत धेरैभन्दा धेरै सरकारी सेवा उपलब्ध गराउने योजना बजेटमा समावेश हुने बताइएको छ ।त्यस्तै डिजिटल पार्क निर्माण, आईटी सेवा निर्यात विस्तार तथा नलेज इकोनोमी विकासमा समेत सरकारले लगानी बढाउने तयारी गरेको छ ।
कर प्रणालीमा व्यापक सुधारको तयारी
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटमार्फत कर प्रणालीमा ठूलो सुधार ल्याउने तयारी गरेका छन् ।मूल्य अभिवृद्धि कर (भ्याट), आयकर तथा अन्तःशुल्क सम्बन्धी कानुनमा व्यापक संशोधन गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ । भ्याटमा दोहोरो दर प्रणाली लागू गर्ने विषयमा समेत छलफल भइरहेको छ ।हाल भ्याट छुटको सूचीमा रहेका धेरै वस्तुलाई कर दायराभित्र ल्याउने तयारी गरिएको छ भने अन्तःशुल्क लाग्ने वस्तुको संख्या घटाउने योजना पनि बनाइएको छ ।
आयकर प्रणालीमा पनि नयाँ स्ल्याब लागू गर्ने तयारी गरिएको छ । उच्च आयमा लाग्दै आएको ३९ प्रतिशत करदर घटाएर ३० वा ३५ प्रतिशतमा झार्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
सरकारी संरचना कटौतीको घोषणा पनि हुने
सरकारले खर्च नियन्त्रणका लागि सरकारी संरचना घटाउने नीति पनि बजेटमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।मन्त्रालय संख्या घटाइसकेको सरकारले अब अनावश्यक कार्यालय, दोहोरो संरचना तथा निष्क्रिय सरकारी निकाय खारेज गर्ने रणनीति अघि बढाएको छ । संघीय सरकारको संरचना करिब ३० प्रतिशतसम्म सानो बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।
यो पनि पढ्नुहोस: मुग्लिन–पोखराको सडक खण्ड आगामी असारसम्म पूरा नहुने, आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा, कसरी चल्दैछ विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय ?, पाल्पा मिसन अस्पतालकी डाक्टर हुँ भन्दै फेसबुकबाट नग्न तस्बिर माग्ने पक्राउ, पछिल्लो इजरायली आक्रमणमा कम्तीमा ३१ लेबनानीको मृत्यु, बागमतीको नीति तथा कार्यक्रम सुकुमवासीलाई १००० घर, चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प, तत्काल ठूलो क्षतिको खबर छैन, खिचापोखरीबाट ६ करोड बराबरको अवैध भेप बरामद, पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्ध, उच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply