२७ साउन, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाली व्यवसाय, नयाँ उद्यमी (स्टार्टअप), शैक्षिक संस्था तथा विभिन्न सङ्घ-संस्थाहरूलाई लक्षित गर्दै ‘एनसेल बिजनेस क्लाउडसुइट’ प्लेटफर्म सञ्चालनमा ल्याएको छ। डिजिटल रूपान्तरणको दिशामा अघि बढिरहेका संस्थाहरूलाई सहज र सुरक्षित वेब सेवा प्रदान गर्ने उद्देश्यले यो नयाँ सेवा सुरु गरिएको हो।
यो एकीकृत प्लेटफर्ममार्फत ग्राहकहरूले अब डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एउटै ठाउँबाट सजिलै प्राप्त गर्न सक्नेछन्। स्थानीयस्तरमै प्राविधिक सहयोग उपलब्ध हुने भएकाले नेपाली प्रयोगकर्ताहरूले विदेशी भुक्तानी र प्राविधिक जटिलताबिना नै आफ्ना वेबसाइटहरू सञ्चालन तथा व्यवस्थापन गर्न सक्ने कम्पनीले जनाएको छ। यसले विशेष गरी साना तथा मझौला उद्योगहरूलाई डिजिटल पहुँच विस्तार गर्न ठूलो सहयोग पुर्याउनेछ।
नेपालमा पछिल्लो समय डिजिटल माध्यमको प्रयोग तीव्र रूपमा बढिरहेको सन्दर्भमा भरपर्दो वेब होस्टिङ तथा डोमेन सेवाको माग उच्च छ। यसै आवश्यकतालाई ध्यानमा राख्दै एनसेल बिजनेसले ल्याएको ‘क्लाउडसुइट’ ले स्थानीय आवश्यकता अनुकूल उच्च सुरक्षा, उच्च गति र सरल व्यवस्थापन प्रणाली प्रदान गर्नेछ। यसबाट देशभित्रै सुलभ मूल्यमा अन्तर्राष्ट्रिय स्तरको वेब सेवा प्राप्त हुनेछ।
कम्पनीका अनुसार नेपालभरका जुनसुकै क्षेत्रका व्यवसाय तथा संस्थाहरूले यो सेवा प्रयोग गरी आफ्नो डिजिटल उपस्थितिलाई बलियो बनाउन सक्नेछन्। सूचना प्रविधिको क्षेत्रमा भइरहेको यो प्रयासले नेपालको समग्र डिजिटल इकोसिस्टमलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।




















Leave a Reply