२८ साउन, काठमाडौं । नेपाल सरकारले हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र प्रभावकारी ‘सरकारी कुरियर सेवा’का रूपमा रूपान्तरण गरेसँगै हालसम्म करिब १० हजार नागरिकले घरदैलोमै प्रत्यक्ष सेवा प्राप्त गरेका छन्। सर्वसाधारणलाई सहज र झन्झटरहित तरिकाले सरकारी कागजात उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो अभियानअन्तर्गत हालसम्म साढे १० लाख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र साढे २ लाख राहदानी (पासपोर्ट) सफलतापूर्वक ढुवानी गरिएको छ।
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार हिमाली जिल्ला हुम्लाबाहेक देशका बाँकी ७६ वटै जिल्लामा सरकारी कागजात घरमै पुर्याउने योजना पूर्ण रूपमा लागू भइसकेको छ। नागरिकले सवारी चालक अनुमतिपत्र, राहदानी, शैक्षिक प्रमाणपत्रलगायतका अत्यावश्यक कागजात लिन सरकारी कार्यालयहरूमा घण्टौँ लाइन बस्नुपर्ने सास्तीको अन्त्य गर्दै हुलाकमार्फत सिधै घरमै प्राप्त गर्ने व्यवस्था मिलाइएको छ। यसले सर्वसाधारणको समय र खर्च दुवैको बचत गराएको छ।
नयाँ सरकार गठन भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकले नागरिकलाई सरल, सुलभ र छरितो रूपमा सेवा प्रदान गर्न हुलाक प्रणालीलाई आधुनिक कुरियर सेवामा ढाल्ने निर्णय गरेको थियो। सोही निर्णयको प्रभावकारी कार्यान्वयनसँगै परम्परागत हुलाक सेवालाई प्रविधिसँग जोडेर सेवा विस्तार गरिएको हो। यस व्यवस्थाले विशेषगरी राहदानी विभाग र यातायात व्यवस्था कार्यालयहरूमा हुने अत्यधिक भीडभाड नियन्त्रण गर्न र सेवा प्रवाहलाई पारदर्शी बनाउन ठूलो सहयोग पुर्याएको छ।
विगतमा केवल चिठीपत्र ओसारपसारमा सीमित बनेको हुलाक सेवा पछिल्लो समय द्रुत ढुवानी प्रणाली र सूचना प्रविधिको प्रयोगका कारण पुनः जनविश्वास जित्न सफल भएको छ। सरकारी कागजात ढुवानीमा पारदर्शिता र उत्तरदायित्व कायम गर्दै आगामी दिनमा भौगोलिक रूपमा दुर्गम हुम्ला जिल्लामा पनि यो सेवा विस्तार गरिने विभागले जनाएको छ। साथै, आगामी दिनहरूमा अन्य विभिन्न सरकारी निकायका सेवाहरूलाई समेत हुलाकमार्फत नै नागरिकको ढोकासम्म पुर्याउने दीर्घकालीन लक्ष्य राखिएको छ।



















Leave a Reply