नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक रूपमा विपन्न, असहाय तथा बेवारिसे नागरिकको सहज उपचारका लागि नगरभित्रका २५ वटा अस्पतालमा कुल ९४ वटा शय्या निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ। आगामी भदौ १ गतेदेखि औपचारिक रूपमा कार्यान्वयनमा आउने गरी उपमहानगरमा सूचीकृत सरकारी तथा निजी अस्पतालहरूमा यो व्यवस्था लागू गर्न लागिएको हो।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पत्रकार सम्मेलनमार्फत कुनै पनि नागरिक आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी शय्या व्यवस्थापन गरिएको जानकारी दिनुभयो। स्थानीय सरकारले गरिब तथा सीमान्तकृत समुदायको स्वास्थ्य पहुँच सुनिश्चित गर्न यो विशेष पहलकदमी लिएको हो।
स्वास्थ्य संस्था सञ्चालन मापदण्डअनुसार अस्पतालहरूले कुल शय्याको १० प्रतिशत विपन्न तथा असहाय वर्गका लागि निःशुल्क छुट्याउनुपर्ने कानुनी प्रावधान छ। सोही व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गराउँदै उपमहानगरले निजी र सरकारी अस्पतालहरूसँग सहकार्य गरेको जनाएको छ। लक्षित वर्गका बिरामीले विपन्नताको परिचयपत्र, स्थानीय तह वा वडा कार्यालयको सिफारिसका आधारमा यी शय्याहरूमा निःशुल्क भर्ना र तोकिएका स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।
उपमहानगरपालिकाले निःशुल्क शय्याको कार्यान्वयन, पारदर्शिता र सेवा प्रवाहको गुणस्तर अनुगमन गर्न विशेष संयन्त्र समेत निर्माण गरेको छ। अस्पतालहरूले तोकिएको शय्या विपन्नलाई उपलब्ध गराए वा नगराएको विषयमा नियमित निरीक्षण गरिने बताइएको छ। यो व्यवस्था कार्यान्वयनमा आएसँगै नेपालगन्ज र आसपासका विपन्न तथा असहाय बिरामीहरूले ठूलो आर्थिक राहत पाउने विश्वास गरिएको छ।




















Leave a Reply