११ कात्तिक, काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत भएको रोमाञ्चक भिडन्तमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गर्दै शानदार जित हासिल गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा विराटनगर किङ्स १९.३ ओभरमा १४९ रन बनाउँदै अलआउट हुन पुग्यो। अन्तिम ओभरहरूमा चितवनका बलरहरूले उत्कृष्ट पुनरागमन गरेपछि विराटनगर जितको नजिक पुगेर पनि पराजित हुन पुगेको हो।
१५८ रनको लक्ष्य पछ्याएको विराटनगरका लागि इमरान शेखले सर्वाधिक ३९ रनको योगदान दिए भने विष्फोटक ब्याटर आन्द्रे रसलले ३३ रन बनाए। एक समय १५.५ ओभरमा ५ विकेट गुमाएर १३२ रनको बलियो स्थितिमा रहेको विराटनगर जिततर्फ सहजै अघि बढिरहेको देखिन्थ्यो। तर त्यसपछि चितवनका बलरहरू हाबी बनेपछि विराटनगरले बाँकी १७ रन जोड्दा आफ्ना अन्तिम ५ विकेट गुमाउन पुग्यो।
चितवन राइनोजको जितमा बलर कमलसिंह ऐरी नायक बने। उनले कसिलो र घातक बलिङ गर्दै विराटनगरका ४ विकेट चटकाए। कमललाई अर्का बलर रिजन ढकालले उत्कृष्ट साथ दिँदै २ विकेट लिए। चितवनका बलरहरूले अन्तिम समयमा दबाब सिर्जना गर्दै विराटनगरका ब्याटरहरूलाई ठूला सट खेल्नबाट रोकेका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। चितवनका लागि ओपनर डेभिड मलानले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ७० रनको महत्त्वपूर्ण पारी खेले। मलान जारी नेपाल प्रिमियर लिगमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बनेका छन्।
चितवनको पारीलाई उकास्न मध्यक्रमका ब्याटरहरू रवि बोपरा र ड्यान माउस्लीले पनि महत्त्वपूर्ण भूमिका खेले। बोपरा ३२ रनमा र माउस्ली २९ रनमा अविजित रहे। विराटनगरका लागि बलिङतर्फ श्रीलंकाली खेलाडी चरिथ असलंका, एन्जेलो म्याथ्युज र वेस्टइन्डिजका आन्द्रे रसलले समान १-१ विकेट लिएका थिए।
प्रतियोगितामा सुखद सुरुआत गर्दै चितवन राइनोजले महत्त्वपूर्ण दुई अङ्क जोडेको छ। नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबार नै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुँदैछन्।
थप उपयोगी लिङ्कहरू
Tourism & Management · Citizen Responsibility · Skill Services · Ramesh Poudel
यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com















Leave a Reply