चैत १६ काठमाडौं – पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्षमा ९० जना कानून व्यवसायी उभिएका छन्। आइतबार जिल्ला अदालत काठमाडौंमा उनीहरूलाई उपस्थित गराउने तयारी गरिएको भए पनि स्वास्थ्य समस्याका कारण ओली अदालतमा उपस्थित भएनन् भने लेखक भने इजलासमा उपस्थित भएका थिए। बहसका क्रममा उनीहरूका वकिलहरूले पक्राउको विरोध गर्दै म्याद थप नगरी बोलाएको बेला उपस्थित हुने शर्तमा रिहा गर्न माग गरेका थिए। यता सरकारी वकिलहरूले भने दुवैलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग राखेका थिए।
यसैबीच, सर्वोच्च अदालतको आदेशमा तीन जना सरकारी वकिलले मात्र बहस गरेको उल्लेख गरिएको छ भने ओली–लेखकको पक्षमा ९० जना कानून व्यवसायीले बहस गरेको सूची राखिएको छ। तर तीमध्ये धेरैले वास्तविक बहस नगरेको र नाम मात्र दर्ता भएको भन्दै विवाद उठेको छ। नेपालमा चर्चित तथा राजनीतिक रूपमा संवेदनशील मुद्दामा ठूलो संख्यामा वकिलहरू संलग्न हुने प्रचलन रहेको छ। यस्ता मुद्दामा वकालतनामा भरेर आफ्नो संलग्नता देखाउने प्रवृत्ति पनि देखिने गरेको छ। इजलास व्यवस्थापन सम्बन्धी अध्ययनहरू र कार्की प्रतिवेदनले पनि यस्तो प्रवृत्तिमाथि प्रश्न उठाउँदै सुधारको आवश्यकता औँल्याएका छन्।

