१९ चैत, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ले देशभरका मालपोत र नापी कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) प्रवेशमा कडाइ गरेको छ। मन्त्री प्रतिभा रावल को निर्देशनमा सचिवस्तरीय निर्णय गर्दै अब सबै कार्यालयमा परिचय खुल्ने कागजात हेरेर मात्रै प्रवेश गराउने व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ।
कार्यालयहरूमा विभिन्न बहानामा बिचौलियाहरू प्रवेश गरी महत्त्वपूर्ण कागजात तथा स्रेस्तामा पहुँच राख्ने गुनासो बढेपछि यस्तो निर्णय गरिएको हो। मन्त्रालयका अनुसार गोप्य र संवेदनशील कागजातमा अनधिकृत पहुँच बढ्नु गम्भीर विषय भएकाले नियन्त्रण आवश्यक भएको हो। निर्देशनअनुसार अब कार्यालयमा सेवा लिन आउने व्यक्तिले आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा देखाउनुपर्नेछ। साथै, कार्यालय परिसरभित्र हुने अनावश्यक भीडभाड नियन्त्रण गर्न पनि यो कदम प्रभावकारी हुने अपेक्षा गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ले देशभरका मालपोत र नापी कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) प्रवेशमा कडाइ गरेको छ
मन्त्रालयले यदि निर्देशन पालना नगरेर अनधिकृत व्यक्तिलाई प्रवेश गराएको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई नै जिम्मेवार ठहर गरिने स्पष्ट पारेको छ। यस निर्णयपछि सेवाग्राहीहरूले सिधै सम्बन्धित शाखा वा कर्मचारीसँग सम्पर्क गरी बिना झन्झट सेवा पाउने विश्वास गरिएको मन्त्रालयले जनाएको छ।

