२१ साउन, काठमाडौं । देशका प्रमुख सहरहरूमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा सास्ती देखिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा हुनसक्ने कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि सक्रियता बढाएको छ। बजारमा ग्यासको समस्या चुलिएका बेला मन्त्रालयले सर्वसाधारणलाई कुनै पनि डिपो वा व्यापारीले ग्यास लुकाएको, बिक्री गर्न अस्वीकार गरेको वा बढी मूल्य लिएको पाइएमा सिधै ९८५१११६७७३ मा सम्पर्क गरी उजुरी दिन आग्रह गरेको छ।
पछिल्लो २० दिनदेखि बजारमा ग्यासको आपूर्ति असहज बन्दा आम उपभोक्ता चरम मर्कामा परेका छन्। नेपाल आयल निगमले भने बजारमा ग्यासको आपूर्ति नियमित र पर्याप्त मात्रामा भइरहेको दाबी गर्दै आएको छ। तर, निगमको दाबी र बजारको वास्तविकता बाझिएको छ। ग्यास डिपोहरूमा बिहानैदेखि उपभोक्ताहरूको लामो लाइन लाग्ने गरे पनि धेरैजसो सर्वसाधारण रित्तो सिलिन्डर बोकेर घर फर्कन बाध्य भइरहेका छन्। यही अस्वाभाविक स्थितिलाई ध्यानमा राख्दै मन्त्रालयले अनुगमनलाई तीव्र बनाएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको सचिवालयले एक सूचना जारी गर्दै बजारमा ग्यास लुकाउने र कृत्रिम अभाव सिर्जना गरी अनुचित लाभ लिन खोज्नेहरूमाथि कडा निगरानी राखिएको जनाएको छ। मन्त्रालयका अनुसार उपभोक्ताबाट प्राप्त हुने सूचना र उजुरीका आधारमा बजार अनुगमन टोलीले तत्कालै स्थलगत निरीक्षण गरी कानुन बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाउनेछ।
मन्त्रालयले उपभोक्ताहरूलाई अत्तालिएर आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर सञ्चय नगर्न र संयमित हुन अपिल गरेको छ। साथै, व्यवसायीहरूलाई पनि आपूर्ति प्रणाली पारदर्शी बनाउन र उपभोक्तालाई सर्वसुलभ रूपमा ग्यास उपलब्ध गराउन निर्देशन दिइएको छ। कालोबजारी वा अनुचित व्यापारिक क्रियाकलापबारे थाहा पाउनासाथ निर्धक्क भएर सरकारले उपलब्ध गराएको सम्पर्क नम्बरमा जानकारी गराउन मन्त्रालयले आम नागरिकसँग आग्रह गरेको छ।




















Leave a Reply