कन्सल्टेन्सीमा सरकारको कडाइ, २५ लाख रुपैयाँ धरौटी व्यवसायी चरणबद्ध आन्दोलनमा

कन्सल्टेन्सीमा सरकारको कडाइ, २५ लाख रुपैयाँ धरौटी व्यवसायी चरणबद्ध आन्दोलनमा

३२, असार, काठमाडौं । सरकारले शैक्षिक परामर्श (कन्सल्टेन्सी), भाषा शिक्षण तथा अन्तर्राष्ट्रिय परीक्षा तयारी कक्षा सञ्चालनलाई थप व्यवस्थित र नियमन गर्न नयाँ नियमावली लागू गरेको छ। तर नियमावलीका केही प्रावधानलाई अव्यावहारिक भन्दै देशभरका शैक्षिक परामर्श व्यवसायीहरू विरोधमा उत्रिएका छन्। मन्त्रिपरिषद्को निर्णयपछि जारी ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ मार्फत सरकारले विद्यार्थी ठगी नियन्त्रण, आर्थिक कारोबार पारदर्शी बनाउने र व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्य राखेको जनाएको छ।

कन्सल्टेन्सी सञ्चालन गर्न मन्त्रालयको अनुमति अनिवार्य

नयाँ नियमावलीअनुसार अब शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति बिना कुनै पनि शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र वा परीक्षा तयारी कक्षा सञ्चालन गर्न पाइने छैन। अनुमतिपत्रको अवधि एक वर्ष हुनेछ। समयमै नवीकरण नगरेमा जरिवाना लाग्नेछ भने तोकिएको अवधिपछि अनुमतिपत्र स्वतः रद्द हुनेछ।

२५ लाख रुपैयाँ धरौटी अनिवार्य

नियमावलीको सबैभन्दा विवादित व्यवस्था २५ लाख रुपैयाँ धरौटी हो।

  • केन्द्रीय कार्यालय सञ्चालन गर्न २५ लाख रुपैयाँ धरौटी अनिवार्य
  • प्रत्येक शाखाका लागि थप २५ लाख रुपैयाँ धरौटी
  • भाषा परीक्षण सेवा सञ्चालन गर्न ५ लाख रुपैयाँ धरौटी
  • भाषा शिक्षण तथा परीक्षा तयारी कक्षाका लागि १ लाख रुपैयाँ धरौटी

नगद कारोबारमा पूर्ण रोक

सरकारले शैक्षिक परामर्श क्षेत्रमा हुने सबै आर्थिक कारोबार बैंक वा डिजिटल माध्यमबाट मात्रै गर्नुपर्ने व्यवस्था गरेको छ। अब विद्यार्थीसँग नगद शुल्क लिन पाइने छैन। प्रत्येक भुक्तानीको बिल वा भर्पाइ दिनुपर्नेछ भने सेवा शुल्कको विवरण संस्थाको वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ।

विदेशी लगानी निषेध

नियमावलीले शैक्षिक परामर्श संस्थामा विदेशी लगानी पूर्ण रूपमा निषेध गरेको छ। हाल विदेशी लगानी भएका संस्थाले एक वर्षभित्र स्वदेशी लगानीमा रूपान्तरण हुनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, विदेशी विश्वविद्यालय लक्षित शैक्षिक मेला, प्रदर्शनी र सेमिनार सञ्चालनमा पनि रोक लगाइएको छ। नेपालमा अध्ययन प्रवर्द्धन गर्ने कार्यक्रम भने मन्त्रालयको स्वीकृतिमा सञ्चालन गर्न सकिनेछ।

कडा भौतिक मापदण्ड

नियमावलीअनुसार कन्सल्टेन्सी सञ्चालन हुने भवनमा निम्न मापदण्ड पूरा हुनुपर्नेछ।

  • भूकम्प प्रतिरोधी भवन
  • अपाङ्गतामैत्री पहुँच
  • पर्याप्त प्रकाश र हावापानी
  • अग्नि नियन्त्रण प्रणाली
  • एम्बुलेन्स र दमकल पुग्ने पहुँच
  • पुस्तकालय र इन्टरनेट सुविधा
  • आफ्नै भवन वा कम्तीमा तीन वर्षको भाडा सम्झौता

परामर्शदाता कम्तीमा स्नातक उत्तीर्ण भई सम्बन्धित तालिम प्राप्त गरेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ।

विद्यार्थी ठगी गरे कडा कारबाही

नियमावलीअनुसार विद्यार्थीलाई गलत परामर्श दिने, अवैध शिक्षण संस्थामा पठाउने, आर्थिक शोषण गर्ने वा ठगी गरेको पाइए सम्बन्धित कन्सल्टेन्सी नै जिम्मेवार हुनेछ। यस्तो अवस्थामा आर्थिक तथा मानसिक क्षतिका आधारमा क्षतिपूर्ति दिनुपर्नेछ। साथै, अनुमतिपत्र रद्द गर्ने तथा धरौटी जफत गर्न सकिने व्यवस्था गरिएको छ।

मन्त्रालयले गर्नेछ ग्रेडिङ

शिक्षा मन्त्रालयले सेवा गुणस्तर, विद्यार्थीको सफलताको दर तथा गुनासोका आधारमा शैक्षिक परामर्श संस्थालाई ए, बी र सी श्रेणीमा वर्गीकरण गरी सार्वजनिक गर्नेछ। मन्त्रालयले जोखिमयुक्त विदेशी विश्वविद्यालय पहिचान गरी त्यस्ता संस्थामा विद्यार्थी पठाउन रोक लगाउन पनि सक्नेछ।

व्यवसायीको आपत्ति

नेपालभरका १४ वटा शैक्षिक परामर्श व्यवसायी संघले संयुक्त रूपमा नियमावली संशोधनको माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।

व्यवसायीहरूको मुख्य मागहरू:

  • २५ लाख धरौटीको व्यवस्था पुनरावलोकन
  • धरौटीको सट्टा व्यवसायिक दायित्व बीमा जस्ता विकल्प
  • एकद्वार अनुमति प्रणाली
  • अनुमतिपत्रको अवधि कम्तीमा पाँच वर्ष
  • शैक्षिक मेला सञ्चालनमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने
  • कन्सल्टेन्सीका लागि अत्यधिक भौतिक मापदण्ड हटाउनुपर्ने

उनीहरूले कानुनी रूपमा सञ्चालन भइरहेका संस्थाभन्दा सामाजिक सञ्जालमार्फत सञ्चालन हुने अवैध परामर्श सेवा, अनधिकृत एजेन्ट र नियमनबाहिर रहेका एडटेक प्लेटफर्ममाथि प्रभावकारी निगरानी गर्न सरकारसँग माग गरेका छन्।


यो पनि पढ्नुहोस:काठमाडौं उपत्यकाबाट शंकास्पद गतिविधिमा संलग्न ६४ जना पक्राउबाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित, यात्रामा सावधानी अपनाउन आग्रहकोशी अस्पतालको सरकारी जग्गामा डोजर, २६ व्यावसायिक सटर हटाइयोबझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्ज रिफर,  इरानले होर्मुज जलमार्ग बन्द गरेको घोषणा, अमेरिकासँग तनाव थप चुलियोजडीबुटी क्षेत्रमा यात्रु तानातान गर्ने आरोपमा ३२ जना पक्राउचीनको फुजियानमा जुत्ता कारखानामा भीषण आगलागी,  गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

4 comments