१३ असोज, काठमाडौं ।
मनाङ: लगातारको अविरल वर्षा र मौसम प्रतिकूल बनेपछि अन्नपूर्ण पदमार्ग भएर मनाङ पुगेका विदेशी पर्यटकहरू थोराङ्ला भञ्ज्याङ पार गर्न नसकी बीच बाटोबाटै फर्किन थालेका छन्। विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङ र पोखरासम्मको यात्रा तय गरेर आएका पर्यटकहरू मौसममा आएको खराबी र बढ्दो जोखिमका कारण सुरक्षालाई ध्यानमा राख्दै यात्रा छोट्याएर लमजुङतर्फ फर्किन बाध्य भएका हुन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) धारापानीका अनुसार केही दिनदेखि देशका विभिन्न भूभागसहित हिमाली जिल्ला मनाङमा भइरहेको निरन्तरको वर्षाका कारण उच्च पहाडी तथा हिमाली पदमार्गमा पहिरो खस्ने र बाटो अवरुद्ध हुने जोखिम बढेको छ। विशेषगरी समुद्र सतहदेखि पाँच हजार चार सय १६ मिटरको उचाइमा रहेको प्रसिद्ध थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा तीव्र हावाहुरी, हिमपात र अत्यधिक चिसोको जोखिम हुने भएकाले पर्यटकहरू जोखिम नमोलि मनाङको माथिल्लो क्षेत्रबाटै फिर्ता हुन थालेका हुन्।
पर्यटन व्यवसायीहरूका अनुसार सेप्टेम्बरदेखि नोभेम्बरसम्मको समय नेपालमा पदयात्राका लागि उपयुक्त र मुख्य सिजन मानिन्छ। यस समयमा अन्नपूर्ण पदमार्गमा दैनिक सयौँको संख्यामा विदेशी तथा आन्तरिक पर्यटकहरू आउने गर्छन्। तर, यस वर्ष सिजनको सुरुवातमै परेको अविरल वर्षाका कारण पदयात्रामा निस्किएका पर्यटकहरू बीचैबाट फर्कनु परेकाले स्थानीय पर्यटन व्यवसायीहरू चिन्तित बनेका छन्। होटल व्यवसायी र गाइडहरूका अनुसार मौसम पूर्ण रूपमा सुधार नभएसम्म पर्यटकहरूलाई अगाडि नबढ्न सुझाव दिइएको छ।
एक्याप र स्थानीय प्रशासनले पदयात्रामा रहेका सबै पर्यटक तथा पथप्रदर्शकहरूलाई मौसमको पूर्वसूचना ध्यानमा राखेर मात्र यात्रा अघि बढाउन आग्रह गरेका छन्। पदमार्गका विभिन्न स्थानमा साना-ठूला पहिराहरू गएकाले ठाउँ-ठाउँमा पैदल मार्ग जोखिमपूर्ण बनेको छ। सुरक्षा निकाय तथा एक्यापका कर्मचारीहरूले पर्यटकहरूको सुरक्षाका लागि विभिन्न चेकपोष्टहरूबाट मौसम सम्बन्धी अद्यावधिक जानकारी गराउँदै आएका छन्। जोखिमपूर्ण अवस्थामा यात्रा जारी राख्दा दुर्घटना हुनसक्ने भएकाले सुरक्षित स्थानमा आश्रय लिन अनुरोध गरिएको छ।
अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका साहसिक पदयात्रीहरूमाझ निकै लोकप्रिय गन्तव्यका रूपमा परिचित छ। लमजुङको बेँसीसहरबाट सुरु हुने यो पदमार्ग मनाङ, थोराङ्ला भञ्ज्याङ हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दी भएर पोखरामा पुगेर टुङ्गिने गर्दछ। प्राकृतिक सुन्दरता र साहसिक पदयात्राका लागि उत्कृष्ट मानिए पनि बर्खायाम र प्रतिकुल मौसमका बेला थोराङ्ला पास गर्नु निकै चुनौतीपूर्ण मानिन्छ।
मौसममा सुधार नआएसम्म पदयात्रामा निस्कन खोज्ने नयाँ पर्यटकहरूलाई समेत मौसमको अवस्था बुझेर मात्र गन्तव्यतर्फ लाग्न स्थानीय प्रशासन र पर्यटन व्यवसायीहरूले अपिल गरेका छन्। मनाङ पुगेका पर्यटकहरू सुरक्षित रूपमा लमजुङको बेँसीसहरतर्फ झरिरहेका छन् भने मौसम सफा भएपछि मात्र आफ्नो बाँकी यात्रा अगाडि बढाउने योजना उनीहरूले बनाएका छन्।
थप उपयोगी लिङ्कहरू
Tourism & Management · Citizen Responsibility · Skill Services · Ramesh Poudel
यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com














Leave a Reply