२६ जेठ, काठमाडौं । चीनबाट आयात गरिएका बीवाईडी ब्रान्डका विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास प्रक्रियालाई लिएर प्रतिनिधिसभामा विपक्षी दलहरूले सरकारको कडा आलोचना गरेका छन्। नेकपा (एमाले) ले यस घटनालाई ठूलो घोटालाको संज्ञा दिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि राजद्रोहको मुद्दा चलाउन माग गरेको छ।
प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले बजेट निर्माण प्रक्रियामै गम्भीर अनियमितता भएको आरोप लगाइन्। उनले आर्थिक विधेयकका १६ पृष्ठ परिवर्तन गरिएको दाबी गर्दै संसद्मा प्रस्तुत दस्तावेज र मन्त्रालयमा रहेको अभिलेखबीच फरक रहेको बताइन्।
उनले बीवाईडी गाडी आयातमा भन्सार प्रक्रिया मिलेमतोमा सञ्चालन गरिएको आरोप लगाउँदै राज्यलाई अर्बौँ रुपैयाँको क्षति पुर्याइएको दाबी गरिन्।“यो सामान्य शंका मात्र होइन, यहाँ घोटाला भएको स्पष्ट संकेत देखिएको छ,” उनले संसद्मा भनिन्।
यस्तै, राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बजेट सार्वजनिक हुनुअघि नै करसम्बन्धी सूचना चुहावट भएको आरोप लगाए। उनले जेठ १४ गते नै ७५३ वटा गाडी भन्सार जाँचपास भएको र ती गाडीहरू केही दिनपछि मात्रै नाकामा पुगेको दाबी गर्दै निष्पक्ष संसदीय छानबिनको माग गरे।
शाहीले करसम्बन्धी गोप्य जानकारी बाहिरिएको प्रमाणित भएमा त्यसलाई गम्भीर राज्यविरुद्धको अपराध मानिनुपर्ने बताए। उनले सरकारले आफैं छानबिन गर्नुको सट्टा संसद्को नेतृत्वमा स्वतन्त्र समिति गठन गर्नुपर्ने धारणा राखे।उता अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले भने सम्पूर्ण आरोपलाई अस्वीकार गरेको छ। सचिवालयले सूचना चुहावटको विषयलाई आधारहीन र ‘मिडिया ट्रायल’ को प्रयास भन्दै गलत सूचना फैलाउनेविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ।
यसैबीच, बीवाईडीको नेपालस्थित आधिकारिक वितरक कम्पनी साइमेक्स इंकले पनि आफूले सबै गाडी कानुनअनुसार र नियमित भन्सार प्रक्रियामार्फत आयात गरेको स्पष्ट पारेको छ। कम्पनीले ग्राहकहरूको पूर्व-बुकिङ पूरा गर्न नियमित व्यावसायिक प्रक्रिया अपनाइएको जनाएको छ।
प्रकरण सार्वजनिक भएपछि अर्थ मन्त्रालयले तातोपानी भन्सार कार्यालयका प्रमुखसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर विभागमा तानेको छ। साथै घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाइएको छ।यसअघि सशस्त्र प्रहरीले मुस्ताङ, कास्की र पर्वतका विभिन्न स्थानबाट सयौँ बीवाईडी विद्युतीय गाडी नियन्त्रणमा लिएको थियो। बजेटअघि करदर बढ्ने सूचना प्राप्त भएपछि केही आयातकर्ताले हतारमा ‘पेपर क्लियर’ गरी भन्सार प्रक्रिया पूरा गरेको आशंकामा अनुसन्धान भइरहेको छ।
यो पनि पढ्नुहोस:न्यून चापीय वायुको प्रभाव कायम, आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा सहभागी नहुने भएका छन्, पोखरा बसपार्कका स्थानीयले आफैं हटाउन थाले घर–टहरा, भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनालले भने– नेपाल सरकारसँग कुनै पुरानो बोझ छैन, विश्व वातावरण दिवस २०२६ देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै, कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा, सांसदलाई ४ अर्ब ३२ करोड बजेट बाँड्दै बागमती सरकार, प्रत्यक्ष सांसदलाई ५ करोडसम्म, सरकारले २५ संस्था खारेज , बैंकमा निष्क्रिय रहेको कोषको रकम सरकारले चलाउने, हकवालाले दाबी गरे फिर्ता हुने, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply