११ जेठ, काठमाडौं । बुटवल–पाल्पा सडकखण्डको जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सिद्धबाबा सुरूङमार्ग आगामी असोजभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाका अनुसार अहिले सुरूङमार्गको ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ।सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि विद्युत् हेडबक्ससम्म एक हजार १२६ मिटर लामो सुरूङ निर्माण भइरहेको हो। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाँच वर्षभित्र परियोजना सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो।
आयोजना प्रमुख नवराज बास्तोलाले मुख्य सुरूङको सिभिल निर्माण कार्य सकिएको र अहिले विद्युतीकरण तथा प्रवेशद्वार निर्माणको काम भइरहेको जानकारी दिए। उनका अनुसार विद्युत् जडान सम्पन्न भएपछि असोजको पहिलो वा दोस्रो सातादेखि सवारी सञ्चालन गर्ने लक्ष्य राखिएको छ।सिद्धबाबा क्षेत्रमा वर्षायाम मात्र होइन, हिउँदमा पनि पहिरो र ढुंगा झर्ने जोखिम उच्च रहने भएकाले यातायातलाई सुरक्षित बनाउन निर्माण कार्य तीव्र पारिएको आयोजनाले जनाएको छ।
हाल परियोजनाको वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ। सुरूङमार्ग सञ्चालनपछि बाहिरी सडक स्तरोन्नति, स्लोप संरक्षण, रक नेट तथा बाइपास सडक निर्माणको काम अगाडि बढाइने योजना छ।२०७८ फागुनमा सम्झौता भए पनि डिजाइन, रूख कटान अनुमति तथा पहिरोका कारण निर्माण कार्य ढिलो गरी सुरु भएको थियो। २०८१ माघमा ‘ब्रेक थ्रु’ सम्पन्न भएपछि निर्माण गति बढाइएको हो।
आयोजनाअन्तर्गत आपत्कालीन अवस्थाका लागि तीन वटा बाइपास सुरूङसमेत निर्माण गरिएका छन्। निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म मर्मत, सञ्चालन र सुरक्षाको जिम्मा निर्माण कम्पनीकै हुनेछ।करीब ७ अर्ब ३४ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यो सुरूङमार्ग सञ्चालनमा आएपछि बुटवल, पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ र पर्वतलगायत पहाडी जिल्लाको यात्रा सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।
यो पनि पढ्नुहोस: राष्ट्रिय सभाले अस्वीकृत गरे संविधान संशोधन विधेयक संयुक्त सदनमा लैजान सकिने प्रस्ताव, भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य, नेपालमा पनि मूल्यवृद्धिको दबाब, नेपाली विद्यार्थीले बनाए पानीमुनि स्क्यान गर्ने डुङ्गा, विपद् व्यवस्थापनमा उपयोगी, क्यान्सर उपचारमा संकट : जीवनरक्षक औषधि अभावले बिरामी जोखिममा, पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्ध, उच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply