हराएको ३० वर्षपछि दोलखा फर्किए आकाश भैरवका ऐतिहासिक मुकुट

५  असार, काठमाडौं । करिब तीन दशकअघि दोलखाबाट चोरी भएका आकाश भैरव (हाथ्व) का दुई ऐतिहासिक तथा धार्मिक महत्वका मुकुट अन्ततः आफ्नै थातथलो फर्किएका छन्। अमेरिकाका विभिन्न संग्रहालयमा पुगेका यी मल्लकालीन मुकुटहरू कूटनीतिक तथा कानुनी प्रक्रियामार्फत नेपाल ल्याइएपछि बिहीबार दोलखामा परम्परागत धार्मिक विधिअनुसार पुनःस्थापना गरिएको हो।

राष्ट्रिय संग्रहालय, छाउनीबाट विशेष सुरक्षा व्यवस्थासहित दोलखा पुर्‍याइएका मुकुटहरूको चरिकोटदेखि दोलखा बजारसम्म भव्य स्वागत गरिएको थियो। स्थानीय बासिन्दा, जनप्रतिनिधि, सुरक्षा निकाय तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरूको उपस्थितिमा बाजागाजा, फूलमाला, धूप र अबिरसहित नगर परिक्रमा गराइएको थियो। तीन दशकपछि आफ्ना कुलदेवताको प्रतीक पुनः फर्किएको अवसरमा स्थानीयवासी भावुक बनेका थिए। बजार क्षेत्र उत्सवमय बनेको थियो भने सडकका दुवै किनारमा स्थानीयहरू स्वागतका लागि उपस्थित भएका थिए। नगर परिक्रमा सम्पन्न भएपछि मुकुटहरूलाई दोलखा बजारको गुरुकोट टोलस्थित नक्छे प्रधान खलकको कुलघरमा लगिएको थियो। त्यहाँ परम्परागत तथा तान्त्रिक विधिअनुसार अभिषेक, पूजा तथा प्राणप्रतिष्ठा गरी पुनःस्थापना गरिएको छ।

इतिहासअनुसार यी मुकुटहरू १६औँ शताब्दीमा निर्माण भएका थिए। तत्कालीन दोलखाका राजा गोविन्ददेवका पाँच सन्तानबीच अंशबन्डा हुँदा उक्त मुकुट नक्छे प्रधान खलकको भागमा परेको मानिन्छ। स्थानीय भाषामा ‘हाथ्व’ भनेर चिनिने यी मुकुट वर्षभरि गोप्य रूपमा संरक्षण गरिन्थे र इन्द्रजात्राको अवसरमा मात्रै सर्वसाधारणलाई दर्शन गराउने परम्परा थियो। वि.सं. २०५० र २०५१ सालतिर कुलघरबाट मुकुट चोरी भएपछि दोलखाको मौलिक जात्रा तथा धार्मिक परम्परामा असर परेको थियो।

करिब ३० वर्षअघि दोलखाबाट चोरी भएका आकाश भैरवका दुई ऐतिहासिक मुकुट अमेरिकाबाट कानुनी प्रक्रियामार्फत नेपाल फिर्ता ल्याइएका छन्। धार्मिक विधिसहित दोलखामा पुनःस्थापना गरिएको मुकुटको भव्य स्वागत गरिएको छ।

नेपालका हराएका सांस्कृतिक सम्पदाको खोजीमा सक्रिय अभियान Lost Arts of Nepal को अनुसन्धानबाट एउटा मुकुट अमेरिकाको Dallas Museum of Art र अर्को Rubin Museum of Art मा रहेको पत्ता लागेको थियो। त्यसपछि Department of Archaeology, नेपाल हेरिटेज रिकभरी अभियान, अमेरिकी निकायहरू तथा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासबीच समन्वय गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको थियो। प्रमाण संकलनपछि मुकुटहरू जफत गरी नेपाल फिर्ता ल्याइएको हो।

नेपाल ल्याइएपछि केही समय राष्ट्रिय संग्रहालयमा संरक्षणमा राखिएका मुकुटहरूलाई अन्ततः नक्छे प्रधान खलकका ज्येष्ठ पुजारी यज्ञकुमार प्रधानको नेतृत्वमा दोलखा लगेर धार्मिक विधिअनुसार पुनःस्थापना गरिएको छ। स्थानीय समुदायले यसलाई दोलखाको सांस्कृतिक इतिहास र धार्मिक परम्पराको पुनर्जागरणका रूपमा लिएको छ।


यो पनि पढ्नुहोस: पासपोर्ट ठेक्का प्रकरण : आरजु राणा पनि अख्तियार अनुसन्धानमा, कर्णाली सरकारले जेठमा मात्रै गर्‍यो २ अर्ब ४० करोड बजेट खर्च,  काभ्रे बस दुर्घटना : मृतकको सम्झनामा रोशी गाउँपालिकाले शुक्रबार शोक बिदा दिने,  इरानमा लगानी बढाउन ३०० अर्ब डलरको कोष प्रस्ताव,  केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयनअमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउफ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडान अनुमति, पर्यटन व्यवसायी उत्साहित,   भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनालले भने– नेपाल सरकारसँग कुनै पुरानो बोझ छैन,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्