यातायात कार्यालयमा बिचौलिया प्रवेश निषेध, सेवाग्राहीलाई सीधै सेवा लिन आग्रह

१८ चैत कञ्चनपुर । महेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालयले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ। सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी तथा आर्थिक ठगीका घटना बढ्न थालेपछि कार्यालयले औपचारिक सूचना जारी गर्दै यस्तो निर्णय लिएको हो। कार्यालयका निमित्त प्रमुख रवीन्द्र चौधरीका अनुसार केही व्यक्तिहरूले सवारीसाधनको बीमा, नवीकरण, निरोगिता प्रमाणपत्रजस्ता काम गरिदिने भन्दै सेवाग्राहीलाई प्रलोभनमा पार्ने, अतिरिक्त रकम असुल्ने तथा हैरानी दिने गरेको गुनासो पटक–पटक आएको थियो।

महेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालयले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ।

उनका अनुसार यस्ता गतिविधिले सेवा प्रवाहमा अव्यवस्था र ढिलासुस्तीसमेत बढाएको छ। अब यदि कसैले निषेधित क्षेत्रमा प्रवेश गरी बिचौलियाको रूपमा काम गरेको पाइएमा कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइनेछ। कार्यालयले सेवाग्राहीलाई आफ्नो कामका लागि सिधै सम्बन्धित शाखा वा कर्मचारीसँग सम्पर्क गर्न आग्रह गरेको छ। साथै, तोकिएको शुल्कबाहेक अतिरिक्त रकम नतिर्न पनि अनुरोध गरिएको छ। कार्यालयले यो कदम सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले चालिएको जनाएको छ। बिचौलिया नियन्त्रणपछि अनावश्यक झन्झट र अतिरिक्त खर्च घट्ने तथा सेवा प्रवाह थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।


यो पनि पढ्नुहोस्