नक्कली भुटानी शरणार्थी प्रकरण: १५ जना दोषी, कसलाई कति सजाय हुन सक्छ?

२४ असार, काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दुई पूर्वमन्त्रीसहित १५ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ। अदालतले सात जनालाई भने आरोपबाट सफाइ दिएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले दोषी ठहर भएका अभियुक्तहरूको सजाय निर्धारणका लागि असार २९ गते पेसी तोकेको छ। उनीहरूलाई कुन कसुरमा दोषी ठहर गरिएको छ भन्ने आधारमा कैद र जरिवाना निर्धारण हुनेछ।

टोपबहादुर रायमाझी र बालकृष्ण खाणविरुद्ध के फैसला?

पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीलाई ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर तथा एकीकृत कसुरमा दोषी ठहर गरिएको छ। त्यस्तै, पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई राज्यविरुद्धको कसुरमा मतियार ठहर गरिएको छ। कानुनी व्यवस्थाअनुसार मतियारलाई पनि मुख्य कसुरदारसरह सजाय हुन सक्छ।

राज्यविरुद्धको कसुरमा कति सजाय?

मुलुकी अपराध संहिताको दफा ५१ अनुसार राष्ट्रहितविरुद्धको कसुर प्रमाणित भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। राज्यविरुद्धको कसुरमा आदेश दिने, उक्साउने वा सहयोग गर्ने व्यक्तिलाई पनि मुख्य अभियुक्तसरह सजाय हुने कानुनी व्यवस्था छ।

ठगी र संगठित अपराधमा थप सजाय

मुलुकी अपराध संहिताअनुसार ठगी कसुरमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। यदि अपराध संगठित रूपमा गरिएको ठहर भएमा संगठित अपराध निवारण ऐन, २०७० अनुसार मूल सजायमा थप ५० प्रतिशत कैद सजाय हुन सक्ने व्यवस्था छ।

किर्ते कसुरमा पनि दोषी

अदालतले भुटानी प्रजातन्त्रवादी नेता टेकनाथ रिजाल, केशवप्रसाद दुलालसानु भण्डारीलाई सरकारी कागजात किर्ते गरेको कसुरमा दोषी ठहर गरेको छ। किर्ते कसुरमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ।

ठगी र संगठित अपराधमा दोषी ठहर भएका

अदालतले केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डेटोपबहादुर रायमाझीलाई ठगी तथा संगठित अपराधमा दोषी ठहर गरेको छ। त्यस्तै टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जननिरञ्जनकुमार खरेललाई संगठित रूपमा ठगी गरेको कसुरमा दोषी ठहर गरिएको छ।

राज्यविरुद्धको कसुरमा दोषी ठहर भएका

राज्यविरुद्धको कसुरमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डेटोपबहादुर रायमाझी दोषी ठहर भएका छन्। यस्तै बालकृष्ण खाण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जननिरञ्जनकुमार खरेललाई उक्त कसुरमा मतियार ठहर गरिएको छ।

फरार आठ जनाको मुद्दा मुल्तवी

अदालतमा उपस्थित नभएका आठ जना अभियुक्तविरुद्धको मुद्दा मुल्तवी राखिएको छ। उनीहरू पक्राउ परे वा अदालतमा उपस्थित भएमा पुनः सुनुवाइ हुनेछ। फरार सूचीमा अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाई, निरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बुसुनिल बुढाथोकी रहेका छन्।

सात जनाले पाए सफाइ

अदालतले रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधरआशिष बुढाथोकीलाई आरोपबाट सफाइ दिएको छ। बैंक खाता प्रयोग भए पनि अपराधमा प्रत्यक्ष संलग्नता पुष्टि हुन नसकेको आधारमा उनीहरूलाई सफाइ दिइएको अदालतको निष्कर्ष छ।

फैसला अन्तिम होइन

जिल्ला अदालतको फैसला अन्तिम भने होइन। दोषी वा अभियोजन पक्षले उच्च अदालतमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था छ। पुनरावेदनपछि माथिल्लो अदालतले जिल्ला अदालतको फैसला सदर, संशोधन वा उल्ट्याउन सक्नेछ।

के थियो नक्कली भुटानी शरणार्थी प्रकरण?

अनुसन्धानका अनुसार केही राजनीतिक नेता, सरकारी कर्मचारी र बिचौलियाको संगठित समूहले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा ठूलो रकम असुलेको थियो। गृह मन्त्रालयको अध्ययन प्रतिवेदन किर्ते गरी ४२९ नेपाली नागरिकलाई शरणार्थीका रूपमा अमेरिका पठाउने योजना बनाइएको आरोपमा यो बहुचर्चित प्रकरण सार्वजनिक भएको थियो। त्यसपछि अनुसन्धान सुरु भई उच्च राजनीतिक र प्रशासनिक तहसम्म मुद्दा पुगेको हो।


यो पनि पढ्नुहोस:शिक्षा नियमावली संशोधन: विद्यालय समितिमा दलका सदस्य निषेध, पीआरधारीलाई पेन्सन नपाइने, श्रीमती हत्या आरोपमा फरार रहेका युवक सात वर्षपछि पक्राउ,  नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्फत घरमै, साउन १ देखि सेवा सुरुआज ७ सडक पूर्ण रूपमा बन्द, ४ सडकमा एकतर्फी मात्रै सवारी सञ्चालन१ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ,  बर्डफ्लु संक्रमित भएका कुखुरा, हाँस, बट्टाइल बिक्री गरेमा कारबाही,  साउनदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग, अन्तिम परीक्षण सफलगुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्