नागरिक एपमा राष्ट्रिय परिचयपत्र गायब, कारण के हो

२०८२ चैत ११ गते | काठमाडौँ — सरकारले नागरिक एपमार्फत वितरण गर्दै आएको राष्ट्रिय परिचयपत्र कार्ड एपमा देखिन छोडेको छ। शुक्रबारदेखि प्रयोगकर्ताहरूले आफ्नो परिचयपत्र विवरण एपमा नदेखिँदा चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जानकारी दिएको छ कि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आएको कारण एपमा परिचयपत्र उपलब्ध नभएको हो। विभागका अनुसार प्रणालीमा आएको खराबी मर्मत गर्न काम भइरहेको छ र मर्मत नपुगेसम्म सम्बन्धित विभिन्न सेवा प्रभावित हुनेछन्।

यसबाट अनलाइन विवरण सङ्कलन, नयाँ परिचयपत्र वितरण, व्यक्तिगत विवरण सच्याउने, जन्म दर्ता गर्दा राष्ट्रिय परिचय नम्बर उपलब्ध गराउने सेवा समेत अवरुद्ध भएको छ। यस समस्या सँगै राहदानी विभाग, बैंक तथा वित्तीय संस्था, कम्पनी रजिस्ट्रार कार्यालयका सेवामा पनि असर परेको छ।

त्यसैगरी, वैदेशिक रोजगार, राष्ट्रिय किताबखाना, स्थायी लेखा नम्बर (प्यान), सामाजिक सुरक्षा भत्ता जस्ता सार्वजनिक सेवामा पनि बाधा पुगेको छ। विभागले प्राथमिकता दिएर प्रणाली मर्मतको काम अघि बढाएको र मर्मत सम्पन्न भए लगत्तै सबै सेवा पुनः सञ्चालनमा ल्याइने बताएको छ।

अफलाइन सुविधा मार्फत भने सेवा जारी राख्न निर्देशन दिइएको छ। यसरी विवरण दर्ता गराएका सेवाग्राहीले प्रणाली पुनः सञ्चालनमा आएपछि आफ्नो राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत प्राप्त गर्नेछन्।