२२ असार, काठमाडौं । सरकारले सार्वजनिक सवारीलाई थप सुरक्षित र प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ट्याक्सी, टेम्पो, बस तथा अन्य सार्वजनिक सवारीमा सीसीटीभी क्यामरा जडान अनिवार्य गरेको छ। हालसम्म देशभर १६० सार्वजनिक सवारीमा सीसीटीभी तथा ड्यासक्याम जडान भइसकेको छ। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार सबैभन्दा धेरै साझा यातायातका १११ वटा बसमा सुरक्षा क्यामरा जडान गरिएको छ। तीमध्ये ७१ वटा डिजेल र ४० वटा विद्युतीय बस रहेका छन्। यस्तै, महानगर यातायातका ४६ वटा बसमा पनि सीसीटीभी र ड्यासक्याम जडान गरिएको छ। तीमध्ये २५ वटा बस काठमाडौं उपत्यकाभित्र र २१ वटा बस उपत्यकाबाहिर सञ्चालनमा छन्। पाँचपोखरी सुनौलो यातायातका तीन वटा बसमा पनि सुरक्षा प्रणाली जडान गरिएको मन्त्रालयले जनाएको छ।
सबै सार्वजनिक सवारीमा नयाँ सुरक्षा मापदण्ड | सार्वजनिक सवारीमा सीसीटीभी अनिवार्य
सरकारले लागू गरेको नयाँ मापदण्डअनुसार अब ट्याक्सी, सफा टेम्पो, माइक्रोबस, मिनीबस, पर्यटक बस, मालवाहक सवारीदेखि ठूला यात्रुवाहक बससम्म सबैमा सीसीटीभी क्यामरा र ड्यासक्याम जडान गर्नुपर्नेछ। यसका साथै यात्रुले सजिलै प्रयोग गर्न सक्ने एसओएस (आपतकालीन सूचना) बटन राख्नुपर्ने व्यवस्था गरिएको छ। चालकको असावधानी, निद्रा वा ध्यान विचलन पहिचान गर्ने प्रणाली पनि निश्चित प्रकारका सवारीमा अनिवार्य गरिएको छ।
जीपीएस ट्र्याकिङ पनि अनिवार्य
नयाँ व्यवस्थाअनुसार यात्रुवाहक, पर्यटक तथा मालवाहक सवारीमा विद्युतीय स्थान निर्धारण प्रणाली (जीपीएस) जडान गर्नुपर्नेछ। यसले सवारीको स्थान, गति र यात्रा विवरण निरन्तर अभिलेख राख्नेछ। उपकरण जडानपछि त्यसको प्रमाणपत्र जारी गर्नुपर्नेछ भने जडान गरिएका उपकरण बिगार्न वा निष्क्रिय बनाउन पाइने छैन।
अग्नि नियन्त्रक र प्राथमिक उपचार सामग्री पनि राख्नुपर्ने
मापदण्डले अधिकांश सार्वजनिक सवारीमा अग्नि नियन्त्रक (फायर एक्स्टिङ्गुइसर) र प्राथमिक उपचार किट राख्न पनि अनिवार्य गरेको छ। यी सामग्री चालक र यात्रुले सजिलै प्रयोग गर्न सक्ने स्थानमा राख्नुपर्ने व्यवस्था गरिएको छ।
नियम पालना नगरे कारबाही
मन्त्रालयका अनुसार आवश्यक सुरक्षा उपकरण जडान नगरेका सवारीसाधन जाँचपासमा अनुत्तीर्ण हुनेछन्। त्यस्ता सवारीले रुट इजाजत प्राप्त गर्न सक्ने छैनन्। यसअघि रुट इजाजत लिइसकेका सवारीले पनि तोकिएको मापदण्ड पूरा नगरेमा रुट इजाजत रद्दसम्म हुन सक्ने व्यवस्था गरिएको छ। सरकारले सार्वजनिक सवारीमा प्रविधिको प्रयोग बढाएर यात्रुको सुरक्षा, दुर्घटना नियन्त्रण तथा सेवा गुणस्तर सुधार गर्ने उद्देश्यले यो मापदण्ड कार्यान्वयनमा ल्याएको जनाएको छ।
यो पनि पढ्नुहोस: आज ७ सडक पूर्ण रूपमा बन्द, ४ सडकमा एकतर्फी मात्रै सवारी सञ्चालन, १ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ, बर्डफ्लु संक्रमित भएका कुखुरा, हाँस, बट्टाइल बिक्री गरेमा कारबाही, पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुनी व्यवस्था, आयल निगमको कडा कदम, निजामती विधेयकमा दुई मन्त्रालयबीच मतभेद, ३५ दिनदेखि कानुन मन्त्रालयमै रोकियो मस्यौदा, साउनदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग, अन्तिम परीक्षण सफल, गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply